काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।
हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा पनि बादल छाएको छ भने यी दुई प्रदेशका हिमाली भूभागमा आंशिक बादल रहेको छ।
**दिउँसोको मौसम**
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि बादल लाग्ने अनुमान छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बादल रहनेछ।
देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा हुन सक्छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी आउन सक्ने छ।
**रातिको मौसम**
आज राति देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश र कर्णाली प्रदेशका पहाडी भूभागमा तथा बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा र हिमपात हुन सक्छ। कोशी र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
