काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले उक्त आयोजनाका प्रवर्द्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्न लागेको हो ।
असार १७ गते बसेको तेह्रथुम पावर कम्पनीको ६७औं सञ्चालक समिति (बोर्ड) बैठकले यो निर्णय औपचारिक रूपमा पारित गरेको हो । कम्पनीले यसबारे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्र मार्फत जानकारी पनि गराइसकेको छ ।
कम्पनीले आफ्नो आठौं वार्षिक साधारण सभाबाट प्राप्त सहमति र प्रबन्धपत्रको व्यवस्था अनुसार बैंक खातामा रहेको लगानीयोग्य मौज्दात रकमबाट यो सेयर खरिद गर्ने जनाएको छ । नर्थ समिट हाइड्रोको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख कित्ता सेयर खरिद गरिनेछ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका (साबिकको बाहुनडाँडा र भुलभुले) मा निर्माणाधीन यस आयोजनाको काम सन्तोषजनक रूपमा अगाडि बढिरहेको र बजेटको हिसाबले पनि आकर्षक देखिएकाले लगानी गर्ने निर्णय लिइएको कम्पनीले बताएको छ ।
विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको यस आयोजनाले सन् २०२३ को नोभेम्बरसम्ममा व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । यस लगानीसम्बन्धी जानकारी धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पनि बोधार्थ पठाइएको छ ।
