समाचार

सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ, ६ दिनको म्याद थप

By अर्जुन भट्टराई

सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ, ६ दिनको म्याद थप

सर्लाही । सर्लाही प्रहरीले ६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार अपराह्न ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश नम्बर ०३–००१ ह ४५१७ को एउटा अटोलाई शंकाको आधारमा रोकी जाँच गर्यो। उक्त अटो हरिवनबाट नारायणतर्फ गइरहेको थियो।

जाँचका क्रममा अटोको डिक्की र सिटमुनि रातो प्लास्टिकले बेरिएका १२ वटा पोकामा लुकाइराखिएको ६० किलोग्राम गाँजा बरामद भयो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अटो चालक सर्लाहीको बागमती नगरपालिका–११ सखुवनी निवासी ३५ वर्षीय थिरविक्रम रायमाझी र सोही ठाउँका निवासी ३५ वर्षीय प्रदीप मगरलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद थप गरेर थप अनुसन्धान जारी राखिएको जानकारी जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.