काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म देशभर कुल धान रोपाइँ ३२.३८ प्रतिशत मात्र सम्पन्न भएको छ । गत वर्षको सोही अवधिमा ४५ प्रतिशत रोपाइँ भएको थियो, अर्थात् यस वर्ष १२.६२ प्रतिशत बिन्दुले कम भएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशभर कुल १३ लाख ७ हजार ६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ४ लाख ४३ हजार ५५९.०९ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकी प्रदेशमा ४१ प्रतिशत, कर्णाली प्रदेशमा ४०.५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३७.३ प्रतिशत र बागमती प्रदेशमा ३३.२ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ३१.५ प्रतिशत रोपाइँ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम १५.६ प्रतिशत मात्र रोपाइँ पुगेको छ ।
गत वर्षको सोही अवधिसँग तुलना गर्दा सुदूरपश्चिममा ६२.८ प्रतिशत, कर्णालीमा ६७.७ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, कोशीमा २९.५ प्रतिशत र मधेशमा २५.१ प्रतिशत रोपाइँ भएको थियो । यसरी हेर्दा कोशी प्रदेशमा मात्र गत वर्षको तुलनामा सामान्य सुधार देखिएको छ, जबकि अन्य सबै प्रदेशमा रोपाइँको गति सुस्त छ ।
कृषि विज्ञहरूका अनुसार समयमा पर्याप्त वर्षा नहुनु, कतिपय क्षेत्रमा सिँचाइको अभाव र रोपाइँका लागि अनुकूल मौसम ढिलो बन्नुका कारण यस वर्ष धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन ।
