अर्थ

१४ खर्ब लगानीयोग्य पुँजी परिचालन गर्न राष्ट्र बैंक ल्याउँदै लचिलो मौद्रिक नीति

By अर्जुन भट्टराई

१४ खर्ब लगानीयोग्य पुँजी परिचालन गर्न राष्ट्र बैंक ल्याउँदै लचिलो मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष लचिलो मौद्रिक नीति ल्याउने भएको छ । बैंकिङ प्रणालीमा थुप्रिएको १४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी परिचालन गर्दै सरकारले तोकेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो नीति तयार पारिएको हो ।

राष्ट्र बैंकका स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा पुगिसकेको छ । व्यवस्थापन समितिले नीतिका मुख्य विषयहरू टुंग्याइसकेको छ भने सञ्चालक समितिबाट स्वीकृति मिलेपछि सो नीति आज साँझ वा भोलि बिहान सार्वजनिक गरिने तयारी छ ।

यस पटकको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी नियामकीय व्यवस्थाहरू समावेश गरिने छैनन् । त्यस्ता व्यवस्था आवश्यकता अनुसार राष्ट्र बैंकले छुट्टै निर्देशनमार्फत संशोधन गर्ने भएकाले मौद्रिक नीतिमा मौद्रिक उपकरण र समष्टिगत आर्थिक व्यवस्थापनसँग सम्बन्धित विषयलाई मात्र प्राथमिकता दिइनेछ ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा १४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । तर निजी क्षेत्रबाट कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन । ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झरे पनि कर्जा विस्तार सुस्त रहेकाले अर्थतन्त्रमा अपेक्षित चलायमानता आउन सकेको छैन ।

यही अवस्थालाई ध्यानमा राखेर राष्ट्र बैंकले कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रको लगानी विस्तार सहज बनाउने उद्देश्यसहित लचिलो मौद्रिक नीति ल्याउन लागेको हो । यसले उत्पादन, उद्योग, व्यापार र पूर्वाधार क्षेत्रमा लगानी बढाई आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.