काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशतभित्र नै सीमित रहने अनुमान गरेका छन्।
मंगलबार आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले घोषणा गरेको आर्थिक सुधारको प्याकेज प्रभावकारी रूपमा कार्यान्वयन भई सरकारी खर्च बढेमा बजारमा माग सिर्जना हुन सक्छ, जसले केही हदसम्म मूल्यमा दबाब पर्न सक्छ। तर विश्वव्यापी संकट क्रमशः कम हुँदै गएकाले आगामी आर्थिक वर्षमा मुद्रास्फीति ५.५ प्रतिशतभित्र रहने हाम्रो अनुमान छ।’
डा. तिमिल्सिनाले नेपाल सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी यो मौद्रिक नीति तयार पारिएको पनि स्पष्ट पारे।
उनका अनुसार चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाह उच्च रहे पनि आन्तरिक बजारमा अपेक्षित माग सिर्जना हुन नसकेकाले कर्जाको माग उल्लेख्य रूपमा बढ्न सकेको छैन। यसकै कारण बैंकिङ प्रणालीमा हाल अधिक तरलताको अवस्था कायम रहेको उनले बताए।
‘आगामी दिनमा पनि यो अवस्था केही समय रहने देखिन्छ। अर्थतन्त्रले गति लिई कर्जाको माग बढ्न थालेपछि यो अतिरिक्त तरलता क्रमशः कम हुँदै जानेछ,’ उनले थपे।
