समाचार

अपाङ्गता भएका व्यक्तिको सम्मानजनक प्रतिनिधित्वका लागि मिडिया संवेदनशील हुनुपर्छ : विज्ञ

By अर्जुन भट्टराई

अपाङ्गता भएका व्यक्तिको सम्मानजनक प्रतिनिधित्वका लागि मिडिया संवेदनशील हुनुपर्छ : विज्ञ

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मानजनक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि सञ्चारमाध्यम थप संवेदनशील हुनुपर्ने आवाज उठेको छ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालका निर्देशक शिरोमणी ढुंगानाले अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सामुदायिक रेडियोको भूमिका विषयक एक कार्यक्रममा बोल्दै यस्तो धारणा राखे। उनले नेपालको संवैधानिक व्यवस्था, कानुनी प्रावधान, भाषा प्रयोग र सामाजिक सोच निर्माणमा मिडियाको भूमिका निर्णायक रहने बताए।

ढुंगानाले समाचार, लेख तथा अन्य सञ्चार सामग्री तयार गर्दा अपाङ्गता भएका व्यक्तिलाई कमजोर वा दयाको पात्रका रूपमा चित्रण गर्नु हुँदैन भन्दै उनीहरूको क्षमता, अधिकार र सहभागितालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए। समावेशी र अधिकारमा आधारित सञ्चार अभ्यासले यस वर्गको आवाजलाई मूलप्रवाहमा ल्याउन महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालकी प्रतिनिधि प्रतिमा गुरुङले पनि सामुदायिक रेडियोको भूमिकालाई महत्वपूर्ण बताइन्। उनका अनुसार उक्त संघले लैङ्गिक समानता, युवा, अपाङ्गता भएका व्यक्ति, आदिवासी तथा अन्य सीमान्तकृत समुदायका सवाललाई अन्तरछेदी (इन्टरसेक्सनल) दृष्टिकोणबाट उठाउँदै आएको छ। संस्थाको संगठनात्मक संरचना सातै प्रदेश तथा स्थानीय तहसम्म फैलिएको छ भने अन्तर्राष्ट्रिय सञ्जालमार्फत एसियाका १२ देश र सात वटा भूराजनीतिक क्षेत्रमा समेत काम भइरहेको उनले जानकारी दिइन्।

गुरुङले सञ्चारमाध्यममा अपाङ्गता भएका व्यक्तिको चित्रण, समाचारको भाषा र प्रस्तुतीकरण समावेशी बनाउन विभिन्न संवाद, अभिमुखीकरण तथा मिडिया फेलोसिप कार्यक्रम सञ्चालन भएको बताइन्। सञ्चार सामग्री तयार गर्दा पहुँचयुक्त उपकरण, समावेशी भाषा र उपयुक्त तस्बिरको प्रयोग गर्नु आवश्यक रहेको उनको भनाइ थियो। विशेषगरी अपाङ्गता भएका महिला, आदिवासी तथा सीमान्तकृत समुदायका आवाजलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान दिनुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रमको मुख्य उद्देश्य सञ्चारमाध्यममा लैङ्गिकता, आदिवासी, अपाङ्गता तथा सीमान्तकृत समुदायका मुद्दालाई मूलप्रवाहीकरण गर्दै अपाङ्गता समावेशी सञ्चार अभ्यासलाई प्रभावकारी बनाउनु रहेको गुरुङले स्पष्ट पारिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.