समाचार

मनी लाउन्डरिङ अनुसन्धानमा तानिए जयवीर देउवा, सात दिनभित्र विभागमा हाजिर हुन पुर्जी

By अर्जुन भट्टराई

मनी लाउन्डरिङ अनुसन्धानमा तानिए जयवीर देउवा, सात दिनभित्र विभागमा हाजिर हुन पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध मनी लाउन्डरिङको अनुसन्धान सुरु गरेको छ।

विभागले आइतबार (असार २३ गते) सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। सूचनामा डडेलधुरा जिल्ला साबिक आसिग्राम गाविस वडा नं. ५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम उपस्थित हुन भनिएको छ।

जयवीरको नाममा दर्ता रहेका केही व्यावसायिक कम्पनीहरूमा गरिएको लगानीको स्रोत नखुलेपछि विभागले उनीमाथि निगरानी बढाएको थियो। थपमा, विवादास्पद व्यवसायी दिपक भट्टसँग पनि जयवीरको व्यावसायिक सम्बन्ध रहेको पाइएको छ। उल्लेखनीय छ कि व्यवसायी भट्ट र उनका साझेदार सुलभ अग्रवाल हाल पुर्पक्षका लागि थुनामा छन्।

विभागले यसअघि पनि जयवीरलाई सम्पर्क गर्ने प्रयास गरेको थियो, तर उनी मुलुकबाहिर रहेका र सम्पर्कमा नआएकाले अन्तमा सार्वजनिक सूचना नै जारी गर्नुपरेको विभाग स्रोतले जनाएको छ।

विभागले स्पष्ट गरेको छ कि तोकिएको म्यादभित्र जयवीर उपस्थित नभएमा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाइनेछ। सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अधिकृतले बयानका लागि बोलाउँदा उपस्थित नहुनुलाई अनुसन्धानमा असहयोग गरेको मानिने र यसले कानुनी जटिलता थप बढाउन सक्ने प्रावधान रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.