समाचार

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना: ऊर्जा र कृषि मन्त्रालयबीच सहकार्य

By अर्जुन भट्टराई

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना: ऊर्जा र कृषि मन्त्रालयबीच सहकार्य

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउन हातेमालो गर्ने भएका छन्।

मंगलबार ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ र कृषिमन्त्री गीता चौधरीबीच भएको भेटवार्तामा सिँचाइ, कृषि उत्पादन, कृषि सेवा र बजारीकरणलाई एउटै योजनाअन्तर्गत अगाडि बढाउने विषयमा गहन छलफल भयो।

मन्त्री श्रेष्ठले भने— ऊर्जा मन्त्रालयले किसानको खेतसम्म सिँचाइ सुविधा पुर्याउन ठूलो लगानी गरिरहेको छ, तर त्यससँगै उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरण पनि प्रभावकारी हुन सके मात्र लगानीको पूर्ण प्रतिफल मिल्छ। त्यसैले सिँचाइ र कृषिका कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने उनले प्रस्ताव राखे।

कृषिमन्त्री चौधरीले यस प्रस्तावलाई सकारात्मक रूपमा स्वागत गर्दै आगामी दिनमा नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्म दुवै मन्त्रालयबीच समन्वय थप सुदृढ बनाइने बताइन्।

यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाहरूको स्थलगत अनुगमन गरेका थिए। उनले रानी–जमरा–कुलरिया, सिक्टा, बबई र राजापुर सिँचाइ प्रणालीको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख र प्राविधिकहरूसँग प्रत्यक्ष छलफल गरेका थिए।

बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजनाले जिल्लाका छ वटा स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। कैलालीको रानी–जमरा–कुलरिया आयोजनाबाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ विस्तार हुने अपेक्षा छ भने बाँकेको सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनलाई भरपर्दो सिँचाइ सुविधा दिने लक्ष्यसहित काम गरिरहेको छ।

यी आयोजनाको करिब आधा निर्माण सम्पन्न भइसकेको छ। मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणालीको विस्तारसँगै किसानहरूले क्रमशः प्रत्यक्ष लाभ लिन थालेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.