काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो काम्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय संयुक्त रूपमा अवलोकन गरे । एडिबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत बनाइएका विद्यालयका भवन, विज्ञान प्रयोगशाला र स्मार्ट कक्षाहरू उनीहरूले नजिकबाट हेरे ।
अवलोकनकै क्रममा मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दाले शिक्षकहरूका लागि तयार गरिएको ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । यो तालिम अनलाइन तथा स्व–अध्ययनमा आधारित छ र एडिबी तथा शिक्षा मन्त्रालयको प्राविधिक सहकार्यमा विकास गरिनेछ । यस तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान र डिजिटल दक्षता सिकाइनेछ ।
कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडिबीले करिब पाँच दशकदेखि निरन्तर सहयोग गर्दै आएकोमा आभार व्यक्त गरे । उनले डिजिटल रूपान्तरण र प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका प्राथमिकता क्षेत्रमा आगामी दिनमा पनि दुई पक्षबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
एडिबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाका प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माणदेखि शिक्षा सुधारका विभिन्न कार्यक्रमहरूमार्फत एडिबीले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आएको शिक्षा मन्त्रालयले जनाएको छ ।
