समाचार

एक हप्तामै तीन ठूला दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

By अर्जुन भट्टराई

एक हप्तामै तीन ठूला दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

काठमाडौं । एक हप्ताभित्र देशका विभिन्न जिल्लामा तीनवटा ठूला सडक दुर्घटना हुँदा सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ। यी मध्ये दैलेखको कर्णाली राजमार्गमा भएको दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन।

पहिलो दुर्घटना असार १८ गते बिहान करिब ११:३० बजे भएको हो। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेताडा क्षेत्रमा सडकबाट करिब चार सय मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो। दुर्घटनामा एक जनाको मृत्यु पुष्टि भइसकेको छ भने पारिवारिक स्रोतका अनुसार अझै पाँच जना बेपत्ता छन्।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोली खोजीमा परिचालित छ। सशस्त्र प्रहरी बलका छ जना तालिमप्राप्त गोताखोर पनि नदीमा खोजी कार्यमा खटिएका छन्। तर कर्णाली नदीको बहाव अत्यधिक तीव्र भएकाले र गाडी वा यात्रु अड्किन सक्ने निश्चित स्थान फेला नपरेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको उनले बताए।

दोस्रो दुर्घटना असार २१ गते आइतबार डोल्पा जिल्लामा भयो। बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भई ११ जना घाइते भएका छन्। डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जुम्ला अस्पतालमा पठाइएको छ।

यसैबीच, बैतडीमा भएको यात्रुवाहक बस दुर्घटनामा १७ जना घाइते भएका थिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार वर्षायाममा सडक चिप्लिने, पहिरो जाने, सडक भासिने र दृश्यता कम हुने कारणले दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढ्छ। उनले सवारी चालकलाई यात्रा सुरु गर्नुअघि गाडीको ब्रेक, टायर, स्टेयरिङ र लाइटलगायत सम्पूर्ण यान्त्रिक अवस्थाको अनिवार्य जाँच गर्न आग्रह गरे। आवश्यक सावधानी अपनाए वर्षायाममा हुने अधिकांश दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.