अर्थ

नेपाल मोबिलिटी एक्सपो २०२६: भृकुटीमण्डपमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन हुँदै

By अर्जुन भट्टराई

नेपाल मोबिलिटी एक्सपो २०२६: भृकुटीमण्डपमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन हुँदै

काठमाडौं। आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्सपो २०२६ आयोजना हुँदैछ। यस प्रदर्शनीमा ५३ वटा अटोमोबाइल ब्रान्डका साथै ४० वटा नयाँ सवारीसाधन र अत्याधुनिक प्रविधिको सार्वजनिक प्रस्तुति गरिने भएको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी सार्वजनिक गर्‍यो।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको एक्सपो अघिल्लो संस्करणभन्दा झनै ठूलो, व्यवस्थित र प्रभावकारी हुने बताइन्। एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय तथा हाइब्रिड सवारी, चार्जिङ पूर्वाधार र गतिशीलतासँग सम्बन्धित नवीन प्रविधिहरू एकै ठाउँमा हेर्न पाइने उनले जानकारी दिइन्।

गत वर्ष स्थान अभावका कारण केही कम्पनीलाई स्टल दिन नसकिएको उल्लेख गर्दै वैद्यले यस वर्ष पनि सहभागिताप्रति व्यापक उत्साह देखिएको बताइन्। यसले नेपालमा अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रदर्शनी स्थलको आवश्यकता रहेको स्पष्ट भएको उनको भनाइ छ।

अध्यक्ष वैद्यका अनुसार यो एक्सपो केवल सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नरही गतिशीलता, नवप्रवर्तन, प्रविधि, शिक्षा र उपभोक्तालाई एकै मञ्चमा जोड्ने राष्ट्रिय प्लेटफर्मका रूपमा विकास भइरहेको छ।

एक्सपो अवधिभर नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनस्थित अडिटोरियममा विद्यार्थी, सञ्चारकर्मी, उद्योगी, उपभोक्ता तथा अन्य सरोकारवालाका लागि विशेष सिकाइ तथा अन्तरक्रिया सत्रहरू सञ्चालन गरिनेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले विद्युतीय सवारी, भविष्यको यातायात, सडक सुरक्षा र गतिशीलतासम्बन्धी विविध विषयमा प्रस्तुति दिनेछन्।

नाइमाले टिकट बिक्रीबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत गतिशीलता क्षेत्रको अनुसन्धान फेलोसिपमा खर्च गर्ने घोषणा गरेको छ। उक्त फेलोसिपबाट तयार हुने अध्ययन तथा अनुसन्धान ‘मोबिलिटी जर्नल’ मार्फत सार्वजनिक गरिनेछ।

नाइमा स्थापना भएको एक वर्षमै सदस्य कम्पनीको संख्या २१ बाट ३६ पुगेको जानकारी दिँदै वैद्यले संस्थाले नीति वकालत, सडक सुरक्षा, क्षमता अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताइन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.