अर्थ

नेपाल र एडीबीबीच १६५ मिलियन डलरका दुई ऋण सम्झौतामा हस्ताक्षर

By अर्जुन भट्टराई

नेपाल र एडीबीबीच १६५ मिलियन डलरका दुई ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच खानेपानी, ढल व्यवस्थापन तथा भन्सार र लजिस्टिक्स सुधारका लागि कुल १६५ मिलियन अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँभन्दा बढी) बराबरका दुई सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा यी सम्झौता सम्पन्न भए। नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले सम्झौतामा हस्ताक्षर गरे।

पहिलो सम्झौताअनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना’का लागि ११५ मिलियन अमेरिकी डलर उपलब्ध गराइनेछ। यो रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी पूर्वाधार निर्माणमा खर्च हुनेछ।

दोस्रो सम्झौताअन्तर्गत ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) तथा लजिस्टिक्स सुधार कार्यक्रम–उपकार्यक्रम २’ का लागि ५० मिलियन अमेरिकी डलर प्रदान गरिनेछ। यो रकम भन्सार कार्यप्रक्रिया र लजिस्टिक्स सेवाको आधुनिकीकरणका लागि बजेटरी सहयोगका रूपमा परिचालन गरिनेछ।

कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासमा एडीबीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा दुवै पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे। एडीबीका अध्यक्ष कान्डाले नेपालसँग करिब छ दशकदेखि जारी सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै नेपालले सामना गर्नुपर्ने आन्तरिक र बाह्य चुनौतीहरूमा बैंक सधैं साथ रहने बताए। उनले नेपालको विकास प्राथमिकता र एडीबीको सहयोगबीच घनिष्ठ तालमेल रहेको पनि उल्लेख गरे।

कार्यक्रममा नेपाल सरकार र एडीबीका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.