समाचार

कोशी अस्पतालको अतिक्रमित संरचना एक साताभित्र हटाउने, मन्त्री मेहताको कडा निर्देशन

By अर्जुन भट्टराई

कोशी अस्पतालको अतिक्रमित संरचना एक साताभित्र हटाउने, मन्त्री मेहताको कडा निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउन कडा निर्देशन दिएकी छिन् । यसका लागि उनले गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण समेत गरेकी छिन् ।

शनिबार नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन् । त्यसको निरन्तरतामा आइतबार गृहमन्त्री गुरुङसहित पुनः अस्पताल पुगेर उनले अतिक्रमित संरचनाको अवस्था प्रत्यक्ष निरीक्षण गरिन् ।

निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका सबै अवैध संरचना तत्काल हटाउने निर्णय गरियो । गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई कानुनअनुसार अतिक्रमित संरचना खाली गराउन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयका साथ परिचालन गरिने बताए ।

स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सूचनाको म्याद सकिँदासमेत संरचना खाली नगरिनु दुःखद भएको बताइन् । उनले अब एक साताभित्र अस्पताल परिसरलाई पूर्णरूपमा अतिक्रमणमुक्त गराइने स्पष्ट पारिन् । सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीकै सेवाका लागि उपयोग हुनुपर्नेमा जोड दिइन् ।

अस्पताल प्रशासनका अनुसार कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् ।

शनिबार मन्त्री मेहताले अस्पतालको विस्तृत अनुगमन गर्दै परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने सम्बन्धमा प्रारम्भिक छलफल पनि गरेकी थिइन् । साथै आकस्मिक कक्ष, वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गरी सरसफाइ, पूर्वाधार व्यवस्थापन र निर्माण कार्य समयमै सम्पन्न गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी थिइन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.