विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गामा भएको अतिक्रमण हटाउन कडा निर्देशन दिएकी छिन् । यसका लागि उनले गृहमन्त्री सुधन गुरुङसँग मिलेर आइतबार अस्पतालको स्थलगत निरीक्षण गरिन् ।
शनिबार नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्रका अतिक्रमित संरचना तत्काल हटाउन भनेकी थिइन् । त्यसको निरन्तरतामा आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उनले अतिक्रमणको अवस्था आफैँ हेरिन् ।
निरीक्षणपछि भएको छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका सबै अवैध संरचना तत्काल हटाउने निर्णय गरियो । गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई कानुनअनुसार संरचना खाली गराउन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायलाई समन्वयमा परिचालन गरिने बताए ।
स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदा पनि संरचना खाली नगरिनु दुःखद् भएको बताइन् । उनले अब एक साताभित्र अस्पताल परिसर पूर्ण रूपमा अतिक्रमणमुक्त गराइने स्पष्ट पारिन् । सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको महत्वपूर्ण आधार भएको भन्दै अस्पतालका सम्पूर्ण पूर्वाधार बिरामीकै सेवामा प्रयोग हुनुपर्नेमा उनले जोड दिइन् ।
अस्पताल प्रशासनका अनुसार कोशी अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन् र केही भाग व्यावसायिक प्रयोजनमा समेत प्रयोग भइरहेको छ ।
शनिबार मन्त्री मेहताले अस्पतालको विस्तृत अनुगमन गर्दै परिसरभित्रै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल पनि गरेकी थिइन् । यसका साथै आकस्मिक कक्ष, वार्ड, प्रयोगशाला, फार्मेसी र निर्माणाधीन संरचनाको निरीक्षण गरी सरसफाइ, पूर्वाधार व्यवस्थापन र निर्माण कार्य समयमै सम्पन्न गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी थिइन् ।
