काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको पहिलो सय दिनमा मन्त्रालयले नीतिगत सुधार, ऊर्जा पूर्वाधार विस्तार, सिँचाइ व्यवस्थापन र संस्थागत रूपान्तरणका क्षेत्रमा उल्लेखनीय काम गरेको छ।
यस अवधिमा जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा एवं ऊर्जा दक्षतासम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पठाइएको छ। विद्युत् खरिद सम्झौता (पीपीए), जलविद्युत् आयोजनाको अनुमतिपत्र व्यवस्था, दीर्घकालीन वित्तीय स्रोत परिचालन, आन्तरिक विद्युत् खपत वृद्धि तथा विद्युत् निर्यात रणनीतिसम्बन्धी अध्ययन प्रतिवेदन तयार भई कार्यान्वयनको चरणमा पुगेका छन्।
संस्थागत सुधारअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको संरचनागत सुधारका लागि रोडम्याप तयार गर्ने प्रक्रिया अघि बढाइएको छ। बहुउद्देश्यीय आयोजना व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको छ।
राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये सुनकोशी–मरिन डाइभर्सन, भेरी–बबई डाइभर्सन तथा रानी जमरा कुलरिया आयोजनाको सञ्चालन ढाँचा तयार गरी समयमै सम्पन्न गर्ने लक्ष्यसहित सम्बन्धित निकायहरू परिचालन भएका छन्।
पूर्वाधार विस्तारतर्फ बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन, बाह्रबिसे सबस्टेसन तथा मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भएको छ। लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक क्षेत्रमा मन्त्री श्रेष्ठ आफैँ स्थलगत भ्रमणमा पुगी स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग समन्वय गरेपछि निर्माण कार्य पुनः सुचारु भएको थियो।
ढल्केबर–बालगंगा तथा लालबन्दी–सलिमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आइसकेका छन् भने न्यू बुटवल–लमही, दैलेख–कालिकोट–जुम्ला र बालकुमारी–ठिमी प्रसारण लाइन निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ। भारतसँगको विद्युत् सम्बन्ध विस्तारका लागि दोधोधारा–बरेली तथा इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमा संयुक्त कम्पनी गठनको प्रक्रिया पनि अगाडि बढेको छ।
सय दिनको अवधिमा देशको विद्युत् उत्पादन क्षमता १३८ मेगावाटले बढेर ४ हजार २४२ मेगावाट पुगेको छ। राष्ट्रिय प्रसारण प्रणालीमा ७९ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ भने ४७२ गिगावाट घण्टाभन्दा बढी विद्युत् निर्यात भएको छ। साथै, १ हजार ५२३ मेगावाट क्षमताका उत्पादन अनुमतिपत्र र १ हजार ५७१ मेगावाट बराबरका नयाँ सर्वेक्षण अनुमतिपत्र जारी गरी निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गरिएको मन्त्रालयले जनाएको छ।
