काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पुर्याउनुपर्ने बताएका छन्।
गौरीशंकर लाल दासको रथारोहण एवं सुवार्णपुरा सम्मान समारोहमा बोल्दै सभापति थापाले उनको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजलाई पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए।
थापाले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण बनाउनुपर्ने जोड दिए। सिराहाबाट लामो समयसम्म स्वास्थ्य सेवाका माध्यमबाट समाजको सेवा गर्दै सकारात्मक सोच र प्रेरणादायी जीवन बिताएका दासको योगदानलाई संरक्षण र सम्मान गर्न सबैले भूमिका खेल्नुपर्ने उनले बताए।
सोही समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वरिष्ठ चिकित्सक तथा समाजसेवी गौरीशंकर लाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान ऐतिहासिक रहेको बताइन्।
डंगोलले वीर अस्पतालमा चिकित्सकीय सेवाका साथसाथै प्रशासनिक नेतृत्व पनि सम्हालेर उनले स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। नेपालको पहिलो दीर्घकालीन स्वास्थ्य सेवा योजना (लङ टर्म हेल्थ केयर) गौरीशंकर लाल दासकै नेतृत्वमा तयार भएको र हालको स्वास्थ्य सेवा विस्तार त्यही योजनाको आधारमा अघि बढिरहेको उनले बताइन्।
डंगोलले चिकित्सा क्षेत्रका साथै मानव अधिकार र नेपाल रेडक्रसलगायत विभिन्न सामाजिक संस्थामार्फत पनि गौरीशंकर लाल दासले उल्लेखनीय योगदान पुर्याएको बताइन्।
