काठमाडौं। योग तथा प्राकृतिक चिकित्सा संघले नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ। शनिबार राजधानीको संवाद डबलीमा संघद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले डा. चेतना पौडेललाई अनावश्यक विवादमा तानिएको भन्दै कडा आपत्ति जनाए।
९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतले राज्यले प्राकृतिक चिकित्सालाई अपेक्षित प्राथमिकता नदिएको बताए। विश्वभर यो चिकित्सा पद्धति प्रभावकारी बन्दै गइरहेको बेला नेपालमा यो ओझेलमा पर्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो।
‘पछिल्लो समयमा रोगीहरूको संख्या बढ्दै जानुमा राज्यको प्राकृतिक चिकित्साप्रतिको अस्पष्ट बुझाइ नै जिम्मेवार छ,’ डा. बस्नेतले भने। उनले डा. चेतना पौडेलको गिरफ्तारी र राज्यको अनुसन्धान प्रक्रियालाई प्राकृतिक चिकित्सामाथिको प्रहार भएको आरोप लगाए।
डा. बस्नेतका अनुसार डा. चेतनाले बैङलोरको ‘राजिब गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स’बाट साढे ५ वर्षको मेडिकल कोर्स पूरा गरेर २१ वर्षदेखि चिकित्सकीय अभ्यास गर्दै आएकी छन्। ‘दुई दशकभन्दा बढी समयदेखि डाक्टरी पेसा गरिरहनुभएकी उहाँ कसरी नक्कली डाक्टर हुनुहुन्छ?’ उनले प्रश्न गरे।
स्वयं डा. चेतना पौडेलले योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर दुई दशकभन्दा बढी समयदेखि यही पेसामा रहँदारहँदै आफूलाई पूर्वाग्रहीत ढंगले विवादमा तानिएकोमा दुःख व्यक्त गरिन्।
प्रा. डा. सञ्जय पोखरेलले विश्वभर प्रभावशाली बन्दै गइरहेको योग तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउँदै डा. चेतना पौडेललाई अनावश्यक विवादमा तानेर राज्यले प्राकृतिक चिकित्सामाथि प्रहार गरेको आरोप लगाए।
डा. हेमराज कोइरालाले प्राकृतिक चिकित्साको विकास क्रमबारे जानकारी दिँदै यस चिकित्सा पद्धतिको उद्गमस्थल नेपालमा नै यो हेलामा परेकोमा दुःख व्यक्त गरे। डा. रविनलाल श्रेष्ठले ब्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेस (बिएनवाईएस) एक प्रभावकारी र प्रमाणित चिकित्सा विधि भएको बताउँदै नेपालमा यसको कानुनी मान्यतासम्बन्धी तथ्यहरू प्रस्तुत गरे। डा. सन्जु खईजुले यस चिकित्साको महत्त्व बढाउन राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा अध्ययन पूरा गरेका नयाँ डाक्टरहरूलाई सम्मान समेत गरियो।
