काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा शनिबार राति करिब ११ बजे जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मारिनेमा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीया छोरा भरत बोटे छन् ।
घरभित्र सुतिरहेका बेला हात्तीले आशिका र उनका छोरा भरतमाथि आक्रमण गर्यो । हात्तीको गम्भीर प्रहारबाट दुवैको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवले जानकारी दिए ।
आशिकाका श्रीमान पूर्ण बोटेले हात्ती भगाउन आगो बाल्ने प्रयास गर्दा आफ्नै कच्ची घरमा आगलागी भयो । घटनाको सूचना पाउनासाथ नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुग्यो र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइयो ।
यो घटना मात्रै नयाँ होइन । ‘ध्रुवे’ नामले परिचित यो जंगली हात्तीले वर्षौंदेखि चितवन आसपासका बस्तीमा आतंक मच्चाउँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ‘ध्रुवे’को आक्रमणबाट २०६६ सालदेखि हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । उनका अनुसार ‘ध्रुवे’ले आक्रमण गरेका अधिकांश घटनामा मानिसले ज्यान गुमाएका छन् ।
२०६९ सालमा यस हात्तीले धेरै मानवीय क्षति पु¥याएपछि यसलाई नियन्त्रण गर्न र मार्ने आदेशसमेत जारी गरिएको थियो । गोली प्रहार गरिए पनि ‘ध्रुवे’ बाँच्न सफल भयो । त्यसपछि केही वर्ष शान्त रहेको यो हात्तीले पुनः आक्रमण सुरु गर्यो । २०७४ सालमा ‘ध्रुवे’को आक्रमणबाट नेपाली सेनाका एक मेजरको समेत ज्यान गएको थियो ।
मानवीय क्षतिका साथै यस हात्तीले घर, बाली र अन्य सम्पत्तिमा पनि ठूलो नोक्सानी पु¥याउँदै आएको सूचना अधिकारी थापा मगरले बताए । यो समस्या पटक-पटक संसदमा उठाइए पनि सरकारको प्रभावकारी ध्यान भने जान सकेको छैन । ‘ध्रुवे’को आतंक नियन्त्रण हुन नसक्दा चितवनका स्थानीय बासिन्दा वर्षौंदेखि त्रासमा बाँच्न बाध्य छन् ।
