काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगहरूलाई मुलुकको आर्थिक विकासका आधारस्तम्भ भनी सम्बोधन गरेका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सचिव निरौलाले साना उद्योग र व्यवसायहरूको सामूहिक योगदानले नै ठूला उद्योग र समग्र अर्थतन्त्रलाई मजबुत बनाउने विचार व्यक्त गरे।
उनले भने, ‘थोपा थोपा मिलेर समुद्र बन्छ भनिन्छ। त्यस्तै घरेलु तथा साना उद्योगहरू, साना साना व्यवसायहरू नै मिलेर ठूला व्यवसायको आधारस्तम्भ खडा गर्छन्। त्यसैले घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राखिनुपर्छ।’
सचिव निरौलाले घरेलु तथा साना उद्योगको अभिलेख व्यवस्थापनमा थप सुधारको आवश्यकता औँल्याए। उनले प्रक्रिया नपुगी दर्ता भएका, वर्षौँदेखि नवीकरण नगरिएका र दर्ता भएर पनि सञ्चालनमा नआएका उद्योगहरूको संख्या उल्लेख्य रहेको बताउँदै यस्ता उद्योगसम्बन्धी तथ्यांक महासंघसँग व्यवस्थित रूपमा राखिनुपर्ने जोड दिए।
यस क्षेत्रको प्रभावकारी विकासका लागि नीति, कानुन तथा तीनै तहका सरकारबीच आपसी समन्वय अपरिहार्य रहेको उनले स्पष्ट पारे। साथै, यस क्षेत्रमा देखिएको संस्थागत अस्पष्टतालाई हटाउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि उनले औँल्याए।
