काठमाडौं। राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवा सुरु गरेको छ। अब ग्राहकहरूले बैङ्कको शाखामा नगई घरबाटै डिजिटल माध्यमबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्।
सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने उद्देश्यले यो व्यवस्था लागू गरिएको बैङ्कले जनाएको छ।
बैङ्कका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार यो सेवाले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आवेदनको अवस्थाबारे ग्राहकमा हुने अन्योल हटाउनेछ। कर्जा प्रक्रियालाई सरल, पारदर्शी र झन्झटरहित बनाउनकै लागि यो सेवा ल्याइएको उनले बताए।
ग्राहकहरूले बैङ्कको आधिकारिक वेबसाइटमा रहेको अनलाइन कर्जा आवेदन लिंकमार्फत डिजिटल कर्जा पोर्टलमा प्रवेश गरेर आवेदन दिन सक्नेछन्। बैङ्कले डिजिटल प्रविधिको अधिकतम उपयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई सहज बैङ्किङ अनुभव दिने लक्ष्य राखेको छ।
