समाचार

राहदानी विभाग नयाँ प्रणालीमा जाँदै: असार २४ देखि केही दिन सेवा बन्द हुने

By अर्जुन भट्टराई

राहदानी विभाग नयाँ प्रणालीमा जाँदै: असार २४ देखि केही दिन सेवा बन्द हुने

काठमाडौं। राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गरी नयाँ प्रणाली लागू गर्ने तयारी थालेको छ। यस क्रममा देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा केही दिनका लागि पूर्ण रूपमा बन्द हुनेछ।

विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूको राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिन पूर्ण रूपमा बन्द रहनेछ। त्यसैगरी, राहदानी विभागबाट प्रत्यक्ष रूपमा दिइने सेवा असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुनेछ।

आगामी असार २९ गतेदेखि भने नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ।

विभागले नयाँ प्रणाली लागू भएपछि सेवा थप सुरक्षित, प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। साथै, प्रणाली स्तरोन्नतिको अवधिमा सेवाग्राहीलाई हुन सक्ने असुविधाप्रति विभागले क्षमायाचना गर्दै सबैसँग सहयोग र सहकार्यको अनुरोध गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.