काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छाएको छ, जबकि मधेश प्रदेशमा आंशिक बदली रहेको छ।
आज दिनभर हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा पर्न सक्नेछ।
महाशाखाले आज राति वर्षाको गतिविधि अझ बढ्ने जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा पनि वर्षा पर्न सक्नेछ।
महाशाखाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने स्थानमा बस्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
