काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रतिको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य असार १९ गतेसम्म आइपुग्दा २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ । अर्थात् एक हप्तामै सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले महँगिएको छ ।
बीचका दिनमा मूल्यमा केही उतारचढाव देखिएको थियो । असार १४ गते सुन प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यसपछि असार १५, १६ र १७ गते लगातार तीन दिन मूल्य घट्दै क्रमशः २ लाख ८२ हजार ४००, २ लाख ७७ हजार ९०० र २ लाख ७७ हजार ३०० रुपैयाँमा झरेको थियो । तर असार १८ गते एकैदिन ६ हजार २०० रुपैयाँ र असार १९ गते थप ७ हजार २०० रुपैयाँले मूल्य उकालो लागेपछि सुन हालसम्मकै उच्च मूल्य नजिक पुगेको छ ।
सुन व्यवसायीहरुका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, भूराजनीतिक तनाव, सम्भावित युद्धको जोखिम, विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाउने प्रवृत्ति तथा सुरक्षित सम्पत्तिको माग बढेकाले सुनको मूल्यमा दबाब परेको हो । यसका साथै अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी ब्याजदरसम्बन्धी अपेक्षाले पनि मूल्यलाई प्रत्यक्ष प्रभाव पारिरहेको उनीहरू बताउँछन् ।
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको दर, अमेरिकी डलरको विनिमय दर र आयात लागतका आधारमा निर्धारण हुने भएकाले विश्व बजारको उतारचढावको असर नेपाली बजारमा पनि स्वाभाविक रूपमा पर्ने गरेको छ ।
मूल्य लगातार बढेपछि सर्वसाधारणले गहना खरिद केही समयका लागि स्थगित गर्ने प्रवृत्ति देखिए पनि लगानीका रूपमा सुन खरिद गर्नेहरूको चासो भने बढ्ने गरेको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय तनाव तत्काल कम नभए र सुरक्षित लगानीको माग उच्च रहिरह्यो भने आगामी दिनमा पनि सुनको मूल्य उच्च रहने वा थप बढ्न सक्ने उनीहरूको अनुमान छ । तथापि विश्व राजनीतिक परिस्थिति र अमेरिकी मौद्रिक नीतिमा आउने परिवर्तनले मूल्यको दिशा फेरिन सक्ने भएकाले बजारमा उतारचढाव कायम रहने अपेक्षा गरिएको छ ।
