मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गर्यो। शुक्रबार नगरपालिकाको दलित हेल्प डेस्कले आयोजना गरेको यस कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण नागरिक सहभागी थिए।
जातीय विभेद सामाजिक अपराध हो भन्ने सन्देश दिँदै समाजमा समानता, एकता र भाइचाराको भावना बढाउने उद्देश्यले सबै सहभागी एउटै ठाउँमा बसेर सँगै खाना खाए। आयोजकका अनुसार यस्ता कार्यक्रमले सामाजिक सद्भाव कायम गर्न र व्यवहारमै समानताको अभ्यास गर्न महत्त्वपूर्ण भूमिका निभाउँछन्।
छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जातीय विभेद अन्त्यका लागि कानुन मात्र पर्याप्त नभई व्यवहारमै परिवर्तन जरुरी रहेको बताए। उनले भने, ‘सहभोज सामाजिक रूपान्तरणको एउटा महत्त्वपूर्ण यात्रा हो। बाहिरबाट छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा अझै विभेद कायम छ। यदि कसैले जातीय आधारमा छुवाछुत गरेको पाइए कानुनअनुसार कारबाही गरिनेछ।’
नगरप्रमुख भामले थपे कि दुर्गम क्षेत्रका दलित समुदायका समस्या समाधान तथा परम्परागत पेसाको संरक्षण र प्रवर्द्धनका लागि देशभरका स्थानीय तहमध्ये पहिलोपटक यस नगरपालिकाले दलित नीति तथा कार्यविधि पारित गरेको छ।
दलित अधिकारकर्मी बलराम शाहनीले सहभोजजस्ता व्यवहारिक अभ्यास जातीय विभेद अन्त्यका लागि प्रभावकारी हुने बताए। उनले भने, ‘सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ। आगामी दिनमा सदरमुकाममा मात्र नभई गाउँगाउँमा पुगेर धामी–झाँक्रीलगायत स्थानीय समुदायलाई पनि सहभागी गराउन सके यसको प्रभाव अझ व्यापक हुनेछ।’
दलित हेल्प डेस्कमा कार्यरत कालिबहादुर नेपालीले सहभोज सामाजिक रूपान्तरणको महत्त्वपूर्ण माध्यम भएको बताउँदै जातीय विभेद अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे। प्रमुख प्रशासकीय अधिकृत विष्णु पौड्यालले भने, ‘जात होइन, मानवताको आधारमा सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक छ। छुवाछुत व्यवहारमै अन्त्य नभएसम्म कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन।’ कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि विभेद अन्त्यका लागि सोचाइसँगै व्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए।
