बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका सबै ९ वटा वडा अब छाउपडी प्रथा तथा छाउगोठमुक्त बनेका छन्। सामाजिक कुसंस्कारविरुद्धको अभियानअन्तर्गत नगरपालिकाले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो।
नगरपालिकाको महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत बाँकी रहेका वडा नम्बर १ र ७ लाई पनि छाउपडी प्रथा तथा गोठमुक्त घोषणा गरिएसँगै नगरपालिकाका सबै वडा गोठमुक्त बनेका हुन्।
शुक्रबार वडा नम्बर १ लाई नेपालकी साहसी महिला राइडर शितल गिरीको उपस्थितिमा छाउपडी गोठमुक्त वडा घोषणा गरियो। यसअघि असार १८ गते वडा नम्बर ७ लाई र गत मंसिरमै वडा नम्बर ८ लाई गोठमुक्त घोषणा गरिसकिएको थियो।
वडा नम्बर १ मा अभियान सुरु हुँदाका १८ वटा र पछि थप पहिचान भएका १० वटा गरी कुल २८ वटा छाउगोठ भत्काएर प्रयोगविहीन बनाइएको छ। नगरपालिकाको मापदण्डअनुसार कम्तीमा ९० प्रतिशत घरधुरीमा छाउगोठ हटाइएको हुनुपर्ने शर्त पूरा गरेपछि मात्र वडालाई गोठमुक्त घोषणा गरिएको हो।
स्थानीय महिला समूह, जनप्रतिनिधि, सुरक्षाकर्मी, बाल क्लब, विद्यार्थी, पत्रकार तथा समुदायको सक्रिय सहभागितामा यो अभियान सफल भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाकी उपप्रमुख नन्दा थापाले जनचेतना अभिवृद्धि, महिला समूह, विद्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँगको सहकार्यले अभियान प्रभावकारी बनेको बताइन्। उनले महिलाको सम्मान, सुरक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिएको उल्लेख गर्दै अब कुनै पनि महिला वा किशोरी महिनावारी वा सुत्केरी हुँदा गोठ वा अन्य असुरक्षित स्थानमा बस्न बाध्य नहुने वातावरण सिर्जना भएको बताइन्।
स्थानीयवासीले पनि यो अभियानले छाउपडी प्रथा अन्त्य गर्न, समुदायमा सकारात्मक सोच विकास गर्न र महिलाको सम्मान तथा सुरक्षित जीवन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
उल्लेखनीय छ, नेपालमा छाउपडी प्रथा कानुनले निषेध गरिएको सामाजिक कुप्रथा हो। महिनावारी भएका महिलामाथि विभेद गर्नु वा उनीहरूलाई छाउगोठमा बस्न बाध्य पार्नु दण्डनीय अपराध हो। तैपनि सुदूरपश्चिमका केही पहाडी जिल्लामा देवी–देउता रिसाउने वा घरमा अनिष्ट हुने अन्धविश्वासका कारण यो कुप्रथा पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। छाउगोठमा बस्न बाध्य महिलाहरू सर्पदंश, जंगली जनावरको आक्रमण, यौन हिंसा, चिसोजन्य स्वास्थ्य समस्या तथा ज्यान गुमाउने जोखिमसम्म सामना गर्दै आएका छन्।
