काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिन पूरा भएको छ। सरकार गठनसँगै सार्वजनिक गरिएको एक सय बुँदे कार्ययोजना अन्तर्गतका सबै काम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। यस अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा सुधार, डिजिटल स्वास्थ्य प्रणाली, अस्पताल व्यवस्थापन, स्वास्थ्य बीमा, आपत्कालीन सेवा तथा स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकता दिएर काम गरेको जनाएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सय दिने कार्ययोजनाका सबै प्रमुख काम सम्पन्न भएको दाबी गरेको छ।\n\nमन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अधिकांश कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको र कतिपय सेवा सञ्चालनमा आइसकेको जानकारी दिए।\n\n**निःशुल्क शय्याका लागि डिजिटल पोर्टल**\n\nआर्थिक रूपमा विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार सेवा प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले मन्त्रालयले विशेष डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। पोर्टल सञ्चालनसँगै यसको कार्यविधि पनि स्वीकृत भएको छ। अस्पतालहरूले सोही कार्यविधिअनुसार सेवा प्रदान गरिरहेका छन् र मन्त्रालयले नियमित अनुगमन पनि गरिरहेको छ।\n\nडा. अधिकारीका अनुसार देशभर छुट्याइएका करिब ३ हजार ३९ वटा निःशुल्क शय्यामध्ये हालसम्म २६५ जना बिरामीले पोर्टलमार्फत सेवा लिइसकेका छन्। यही पोर्टलमा रक्तसञ्चार सम्बन्धी विवरण पनि राखिने भएको छ, जसबाट कुन ठाउँमा कति रगत उपलब्ध छ भन्ने जानकारी नागरिकले एकीकृत रूपमा पाउन सक्नेछन्। यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा छुट्टै अनुगमन टोली पनि गठन गरिएको छ।\n\n**अस्पतालको अभिलेख प्रणाली डिजिटाइज**\n\nमन्त्रालयले स्वास्थ्य सेवाको डिजिटलीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ। अस्पतालको अभिलेख प्रणाली डिजिटल बनाउन राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीसम्बन्धी मापदण्ड स्वीकृत गरी कार्यान्वयन सुरु गरिएको छ। यस अन्तर्गत बिरामीको दर्ता, उपचार, शल्यक्रिया, क्लिनिकल फलोअप र रेफरल लगायत सम्पूर्ण विवरण डिजिटल माध्यमबाट व्यवस्थापन गर्ने प्रणाली विकास गरिएको छ। अस्पतालहरूले प्रयोग गर्न मिल्ने गरी ‘हस्पिटल ट्रान्सफरमेसन इन्जिन’ पनि निर्माण गरिएको छ।\n\nहाल यो प्रणाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ट्रमा सेन्टर र कान्ति बाल अस्पताल लगायत पाँच अस्पतालमा पाइलट परीक्षणका रूपमा सञ्चालनमा छ। परीक्षण सफल भएपछि अन्य सरकारी अस्पतालमा पनि विस्तार गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ। साथै रेफरल प्रणाली व्यवस्थित बनाउन क्लिनिकल रेफरल प्रोटोकलको काम पनि सम्पन्न भएको डा. अधिकारीले बताए।\n\n**अस्पताललाई नागरिकमैत्री बनाउने अभियान**\n\nमन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि कार्यान्वयन गर्दै अस्पतालको सरसफाइ, स्वास्थ्यकर्मीको उपस्थिति व्यवस्थापन, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा आधारभूत सेवा मापदण्ड लागू गर्ने अभियान सञ्चालन गरेको छ। डा. अधिकारीका अनुसार सरसफाइ एकपटक गरेर सकिने काम नभएकाले यसलाई निरन्तर अभियानकै रूपमा अघि बढाइएको छ।\n\n**सुलभ फार्मेसी मापदण्ड लागू**\n\nनागरिकलाई सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले सुलभ फार्मेसी मापदण्ड–२०८३ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। यस मापदण्डअनुसार सरकारी अस्पतालहरूमा सुलभ मूल्यमा औषधि उपलब्ध गराउने व्यवस्था विस्तार गरिएको छ, जसबाट बिरामीको औषधि खरिद खर्च घट्ने अपेक्षा गरिएको छ।\n\n**१४ संघीय अस्पतालमा जलन उपचार सेवा**\n\nजलनका बिरामीलाई विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना गरिएको छ। प्रदेश अस्पतालहरूमा पनि यस्ता सेवा विस्तार गर्न परिपत्र गरिएको छ र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जलन उपचारसम्बन्धी तालिम पनि प्रदान गरिएको छ। मन्त्रालयका अनुसार पछिल्ला तीन महिनामा काठमाडौं उपत्यकाबाहिरका अस्पतालबाट मात्रै ८७ जनाले जलन उपचार सेवा लिएका छन्।\n\n**आपत्कालीन हेलिकोप्टर सेवा**\n\nदुर्गम तथा पहाडी जिल्लामा आपत्कालीन बिरामीको उद्धार सहज बनाउन मन्त्रालयले ११ वटा हेलिकोप्टर कम्पनीसँग सहकार्य गरेको छ। आवश्यकता परेमा हेलिकोप्टर स्ट्यान्डबाइ राखिने र सहुलियत दरमा सेवा उपलब्ध गराउने सहमति भएको मन्त्रालयले जनाएको छ। यस सम्बन्धी सम्पूर्ण जानकारी तथा सम्पर्क विवरण ११५५ नम्बरमार्फत उपलब्ध छ।\n\nतथापि मन्त्रालयले यो सेवा पूर्णतः निःशुल्क नभएको स्पष्ट पारेको छ। डा. अधिकारीका अनुसार सरकारले सबै नागरिकलाई निःशुल्क हेलिकोप्टर सेवा दिने निर्णय गरेको होइन। सुत्केरी महिलाका लागि भने विद्यमान कार्यविधिअनुसार सरकारले खर्च व्यवस्थापन गर्ने नीति छ, जबकि अन्य बिरामीका लागि सहुलियत दरमा सेवा उपलब्ध गराउन हेलिकोप्टर कम्पनीसँग समन्वय गरिएको छ।\n\n**स्वास्थ्य बीमा सुधारको प्रक्रिया जारी**\n\nस्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सेवा प्याकेज पुनरावलोकन, कानुनी संरचना संशोधन तथा व्यवस्थापन सुधारको काम अघि बढिरहेको मन्त्रालयले जनाएको छ।\n\n**सय दिनपछि पनि जारी रहने कार्यक्रम**\n\nडा. अधिकारीले सय दिनको योजना भनेको सबै काम त्यही अवधिमा टुंग्याउने होइन, बरु सुधारको सुरुवात गर्ने, आवश्यक नीति तथा कार्यविधि तयार गर्ने र सेवा सञ्चालनमा ल्याउने प्रक्रिया हो भन्दै सुरु गरिएका कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने बताए। उनले भने, ‘कतिपय कार्यक्रम सय दिनभित्र सुरु गर्ने, कतिपय पूरा गर्ने लक्ष्य हुन्छ भने धेरै कार्यक्रम निरन्तर सञ्चालन हुने प्रकृतिका हुन्छन्। अस्पतालको सरसफाइ, सेवा सुधार, डिजिटल प्रणाली, अनुगमनजस्ता काम निरन्तर चलिरहने विषय हुन्।’\n\n**उपलब्धिसँगै चुनौती पनि उत्तिकै**\n\nमन्त्रालयले सय दिनमा विभिन्न सुधारका कार्यक्रम सुरु गरेको दाबी गरे पनि स्वास्थ्य क्षेत्रका संरचनागत समस्या भने अझै समाधान भइसकेका छैनन्। स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सरकारी अस्पतालमा बढ्दो बिरामी चाप, विशेषज्ञ चिकित्सकको अभाव, दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँ
सरकारको सय दिन : स्वास्थ्य मन्त्रालयले सबै कार्ययोजना पूरा गरेको दाबी गर्यो
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
