काठमाडौं । आज देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पश्चिम नेपालका केही साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली लगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्नेछ। यी क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम रहेको पनि महाशाखाले जनाएको छ।
सोही महाशाखाका अनुसार आज नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी र पश्चिम सेती नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
अन्य प्रमुख नदीहरूमा भने बहाव सामान्य उतारचढावको अवस्थामा रहने अनुमान गरिएको छ। तथापि, निरन्तर वर्षा भइरहेका क्षेत्रमा नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
