समाचार

काठमाडौं महानगरपालिकाको २५ अर्ब ८८ करोडको बजेट सर्वसम्मत पारित

By अर्जुन भट्टराई

काठमाडौं महानगरपालिकाको २५ अर्ब ८८ करोडको बजेट सर्वसम्मत पारित

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकाको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएका छन्।

असार ४ गते राष्ट्रिय सभा गृहमा बसेको नगरसभा १९औँ अधिवेशनको चौथो बैठकले यो निर्णय गरेको हो। कार्यवाहक प्रमुख सुनिता डंगोलले पेस गरेको कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपियाँको बजेटमाथि सभामा छलफल भएपछि सर्वसम्मतिले पारित गरिएको हो।

पारित बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने रकम २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्ययभार हुने रकम ७५ करोड रुपियाँ रहेको छ।

बैठकमा अध्यक्ष डंगोलले छलफलका लागि समय दिएपछि आशामान संगत, रोजिना श्रेष्ठ, मचाराजा महर्जन, उदयचुडामणि बज्राचार्य, अनिल कुमार श्रेष्ठ, हीरादेवी पोखरेल, सन्तोष ढुङ्गेल, सीता विसुन्के, चन्द्रमान तुलाधर, भगवान बुढाथोकी, रचना सुनाम र शर्मिला परियारले संशोधन प्रस्तावसहित सहरी व्यवस्थापनसम्बन्धी विभिन्न सुझाव पेस गरे। ती सुझाव र संशोधन प्रस्तावलाई समेटेर अध्यक्षले प्रस्ताव सभा समक्ष राखेपछि सदस्यहरूले सर्वसम्मत पारित गरेका हुन्।

सोही बैठकमा विधायन समितिका संयोजक तथा वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले कार्यसूचीको क्रम संख्या ४ अन्तर्गत पाँच वटा ऐन संशोधन प्रस्ताव पेस गरे। ती ऐनहरूमा ‘जनस्वास्थ्य ऐन २०८० को पहिलो संशोधन २०८३’, ‘शिक्षा ऐन २०७५ को दोस्रो संशोधन २०८३’, ‘विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को पहिलो संशोधन २०८३’, ‘विपद् व्यवस्थापन ऐन २०७७ को पहिलो संशोधन २०८३’ र ‘कर्मचारी सेवा ऐन २०७७ को चौथो संशोधन २०८३’ समावेश छन्। यी ऐनहरू त्यही दिन बिहान काठमाडौं प्लाजामा बसेको कार्यपालिकाको ५३औँ बैठकले छलफल गरेर सभामा लैजाने निर्णय गरेको थियो।

पेस भएका ऐनहरू र अन्य प्रस्तावमाथि थप छलफल गर्न असार २३ गते मंगलबार दिनको ३ बजे नगरसभाको पाँचौँ बैठक बोलाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.