समाचार

हेटौँडामा सुरक्षागार्डलाई धारिलो हतियारले आक्रमण गर्ने अभियुक्त पक्राउ

By अर्जुन भट्टराई

हेटौँडामा सुरक्षागार्डलाई धारिलो हतियारले आक्रमण गर्ने अभियुक्त पक्राउ

मकवानपुर । हेटौँडामा एक सुरक्षागार्डमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो। हेटौँडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सविन नेपालीले तामाङलाई कुटपिट गर्नुका साथै धारिलो हतियार (टाप) ले शरीरका विभिन्न भागमा प्रहार गरेका थिए, जसबाट तामाङ गम्भीर घाइते भए। आक्रमणपछि अभियुक्त फरार भएका थिए।

घटनाको सूचना पाउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले तुरुन्त खोजतलास सुरु गर्यो। अनुसन्धान र सूचनाका आधारमा प्रहरीले बुधबार बिहान करिब २ बजे अभियुक्त सविन नेपालीलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लियो। पक्राउका क्रममा घटनामा प्रयोग भएको धारिलो हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका नेपालीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.