समाचार

असई थमन विक हत्या प्रकरण: उच्च अदालतको फैसलापछि पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

By अर्जुन भट्टराई

असई थमन विक हत्या प्रकरण: उच्च अदालतको फैसलापछि पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

काठमाडौं। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत जनकपुरधामले बुधबार यो मुद्दामा कोइरीलाई पाँच वर्ष कैद सजाय तोक्ने फैसला सुनाएपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसलाअनुसार कोइरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए। एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका कोइरी यसअघि महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका थिए। उल्लेखनीय छ, उक्त निर्वाचनका बेला उनीमाथि यही फौज्दारी मुद्दा विचाराधीन थियो। पछिल्लो निर्वाचनमा भने उनी पराजित भए।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मंसिर २८ गते यही मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरधामले सो फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरेको छ।

प्रकरणको पृष्ठभूमिअनुसार सशस्त्र प्रहरीका असई थमन विकको २०७२ साल भदौमा मधेश आन्दोलनका क्रममा हत्या भएको थियो। जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा बाटोमा केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए, जसका कारण उनको मृत्यु भएको थियो।

उच्च अदालतको यस फैसलासँगै लामो समयदेखि चर्चामा रहेको थमन विक हत्या प्रकरणले पुनः राजनीतिक र कानुनी बहसलाई तताएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.