अर्थ

सरकारप्रति विश्वास नबनेसम्म पुँजी बजारमा लगानीको वातावरण तयार हुँदैन : अर्थविद् अधिकारी

By अर्जुन भट्टराई

सरकारप्रति विश्वास नबनेसम्म पुँजी बजारमा लगानीको वातावरण तयार हुँदैन : अर्थविद् अधिकारी

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको पुँजी बजारको हालको अवस्थालाई एउटै कारणसँग जोडेर व्याख्या गर्न नसकिने बताएका छन् । बजारमा सीमित व्यक्तिको प्रभाव, इन्साइडर ट्रेडिङका आरोप र लगानीकर्ताको मनोविज्ञानलगायत विभिन्न पक्षहरूले बजारलाई एकसाथ प्रभावित गरिरहेको उनको भनाइ छ।

डा. अधिकारीले भने कि विगतमा शेयर बजारमा केही सीमित व्यक्तिको पकड रहेको र इन्साइडर ट्रेडिङ भएको भन्ने चर्चा बजारमा व्यापक रूपमा फैलिएको थियो। त्यसका केही प्रभाव अहिले पनि देखिन सक्ने उनको अनुमान छ। ‘म यो कुरा शतप्रतिशत हो भनेर भन्न सक्दिनँ, तर बजारमा त्यस्ता चर्चा भइरहेका थिए। पहिले बजारमा भूमिका खेल्ने केही समूह अहिले सक्रिय हुन नपाउँदा पनि बजारमा त्यसको प्रभाव परेको हुन सक्छ,’ उनले स्पष्ट पारे।

उनका अनुसार साना लगानीकर्ताले दुई–तीन लाख वा चार लाख रुपैयाँ लगानी गर्दैमा बजारको समग्र दिशा बदल्न सम्भव छैन। बजारको उतारचढावका पछाडि संरचनागत र मनोवैज्ञानिक दुवै किसिमका कारणहरू रहेका छन्।

लगानीकर्ताको मनोविज्ञानबारे बोल्दै डा. अधिकारीले भने कि धेरै लगानीकर्ताले खुलेर नभने पनि सरकारप्रति पूर्ण विश्वास नजम्मासम्म लगानी विस्तार हुन गाह्रो छ। ‘सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म लगानीको वातावरण बन्दैन। लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रिया सरल हुनुपर्छ, नीति तथा कानुन स्पष्ट र सहज हुनुपर्छ, र सरकारी संयन्त्रले लगानीकर्तालाई अनावश्यक झन्झटमा पार्नु हुँदैन,’ उनले थपे।

सरकारले पछिल्लो समय प्रशासनिक प्रक्रियामा केही सरलता ल्याउने प्रयास गरेको उल्लेख गर्दै डा. अधिकारीले त्यस्ता सुधारलाई अझ प्रभावकारी र निरन्तर बनाउन आवश्यक रहेको औंल्याए।

अन्तमा उनले दीर्घकालीन रूपमा पुँजी बजारको विकासका लागि पारदर्शिता, सुशासन, नीतिगत स्थिरता र लगानीकर्ताको विश्वास नै सबैभन्दा महत्त्वपूर्ण आधार रहने बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.