अर्थ

बाजेको सेकुवा प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै, साउन १ मा विशेष साधारण सभा

By अर्जुन भट्टराई

बाजेको सेकुवा प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै, साउन १ मा विशेष साधारण सभा

काठमाडौं । नेपालकै चर्चित रेस्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। साथै, संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

आईपीओसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले साउन १ गते बिहान ११ बजे काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नो रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा बोलाएको छ। सो सभामा आईपीओसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ।

यसअघि गत असोज २ गते भएको वार्षिक साधारण सभाले आईपीओसम्बन्धी प्रस्ताव पारित गरिसकेको थियो। कम्पनीले क्रेडिट रेटिङसमेत पूरा गरिसकेको छ, जसमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जुन मध्यम स्तरको सुरक्षित मानिन्छ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ। संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्ता पूँजी कायम भएकोमा कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ।

४९ वर्षको इतिहास बोकेको बाजेको सेकुवाको सुरुवात एयरपोर्ट नजिकैको सिनामंगलबाट भएको हो। हाल कम्पनीले नेपाल र विदेशमा गरी २९ वटा शाखा सञ्चालन गरिरहेको छ। परम्परागत नेपाली खाना तथा सेकुवा परिकारका लागि परिचित यस ब्रान्डले ग्राहकलाई २०० भन्दा बढी मेनु परिकार उपलब्ध गराउँदै आएको छ। यो कम्पनी २०६६ साल कात्तिक २३ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा दर्ता भएको थियो र २०८२ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।

आर्थिक दृष्टिकोणले पनि कम्पनीको प्रदर्शन उत्साहजनक रहेको छ। आर्थिक वर्ष २०७८÷७९ देखि २०८१÷८२ सम्ममा कम्पनीको सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले वृद्धि भई ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ। आउटलेट तथा ब्रान्डको विस्तार र रेस्टुरेन्ट सेवाप्रतिको बढ्दो मागका कारण यो वृद्धि भएको कम्पनीको दाबी छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.