काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। यस समय बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश ठाउँमा बादल छाएको छ भने कोशी र मधेश प्रदेशमा साधारण बादल देखिएको छ।
हाल बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश ठाउँमा बादल लाग्ने अनुमान छ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान, मधेश र कोशी प्रदेशको तराईका एक-दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा पर्न सक्छ। विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज रातिको अवस्थाको कुरा गर्दा देशभर साधारणतया बादल रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा र हिमपात हुन सक्छ। कोशी र कर्णाली प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थान, मधेश र कोशी प्रदेशको तराई, तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ।
