काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधान गर्न कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन्।
मन्त्रालयका अनुसार यस समितिलाई एक महिनाभित्र स्पष्ट मार्गचित्र तयार गर्ने जिम्मेवारी दिइएको छ। समितिले हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी विस्थापित परिवारको उचित व्यवस्थापनका उपाय, कार्यान्वयनका तरिका र आवश्यक सिफारिस सरकारसमक्ष पेश गर्नेछ।
यसका साथै आवश्यक परेमा नयाँ आयोग गठन गर्नुपर्ने आधार र त्यसको कार्यादेश (टीओआर) समेत तयार गरी सुझाव दिन समितिलाई निर्देशन दिइएको छ।
मन्त्री चौधरीका अनुसार वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जमा स्तरोन्नति हुने क्रममा निकुञ्जभित्रका बस्तीहरू स्थानान्तरण गरिए पनि जग्गा तथा पुनःस्थापनासम्बन्धी समस्या हालसम्म जस्ताको तस्तै छ। यही समस्यालाई ध्यानमा राखेर विस्थापित परिवारको उचित व्यवस्थापनका लागि यो समिति गठन गरिएको उनले जानकारी दिइन्।
सरकारले समितिको प्रतिवेदनका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ।
