काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ।
नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल र लगानीमैत्री बनाउने उद्देश्यले संघले यी नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो।
**संघका पाँच प्रमुख सुझाव**
पहिलो, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी गर्ने विषयमा थप नीतिगत लचकता दिनुपर्ने संघको माग छ। लकइनसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरी पर्याप्त पूँजी, तरलता र जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई विवेकपूर्ण रूपमा शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने उसको भनाइ छ।
दोस्रो, लघुवित्त संस्थाको लाभांश वितरणसम्बन्धी व्यवस्थामा सुधार गर्नुपर्ने सुझाव दिइएको छ।
तेस्रो, शेयर धितो कर्जालाई जोखिममा आधारित प्रणालीमा रूपान्तरण गर्नुपर्ने माग राखिएको छ।
चौथो, गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपाली पूँजीबजारमा सहजै प्रवेश गर्न र लगानी फिर्ता लैजान मिल्ने वातावरण सुनिश्चित गर्नुपर्ने संघको आग्रह छ।
पाँचौं, कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीहरूका दीर्घकालीन कोषलाई स्पष्ट जोखिम व्यवस्थापन मापदण्डका आधारमा पूँजीबजारमा थप सक्रिय रूपमा परिचालन गर्न आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
संघका अनुसार यस्ता संस्थागत लगानीकर्ताको सक्रिय सहभागिताले बजारमा दीर्घकालीन स्थायित्व, तरलता र लगानीकर्ताको विश्वास बढ्नेछ। यी सुझाव कार्यान्वयन भएमा पूँजीबजारको गहिराइ बढ्ने, संस्थागत लगानीकर्ता आकर्षित हुने र समग्र वित्तीय प्रणालीको स्थायित्वमा सकारात्मक असर पर्ने संघको विश्वास छ।
