जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा बुधबार साँझ चट्याङ पर्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिकै भेडा चराउन गएका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावतमाथि चट्याङ खस्दा उनको त्यहीँ मृत्यु भयो।
सोही घटनामा २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया पनि घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको अवस्था हाल सामान्य छ।
चट्याङका कारण केही भेडाबाख्रा पनि मरेको प्रारम्भिक जानकारी आएको छ, तर कति पशु मरे भन्ने यकिन विवरण भने अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीय रंगबहादुर रोकायाले राति करिब ८ः३० बजे प्रहरी चौकी बड्कीमा घटनाको जानकारी दिएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनाबारे थप अनुसन्धान तथा क्षतिको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।
