काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रको राजनीतिक दुरुपयोग गर्न नहुने चेतावनी दिएका छन् । यस्तो दुरुपयोग भयो भने नेपाल ग्रे लिस्टबाट बाहिरिन झन् गाह्रो हुने उनको भनाइ छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वाग्लेले नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणका क्षेत्रमा गरेका गतिविधिमाथि अन्तर्राष्ट्रिय स्तरबाट कडा निगरानी भइरहेको बताए ।
‘सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक अभीष्ट पूरा गर्न दुरुपयोग गरियो भने हामी ग्रे लिस्टबाट बाहिरिन सक्दैनौं । त्यसैले यसलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न हुँदैन,’ उनले भने ।
मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागको संरचनाबारे रहेको भ्रम पनि यस अवसरमा स्पष्ट पारे । उक्त विभाग अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत नभई अर्थ मन्त्रालयअन्तर्गत रहेको उनले जानकारी दिए ।
‘सम्पत्ति शुद्धीकरण विभाग अर्थ मन्त्रालयअन्तर्गत छ । पहिले यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत थियो । त्यतिबेला व्यापक रूपमा उजुरी संकलन गरेर राजनीतिक प्रताडनाको कुसंस्कार बसालिएको थियो । अहिले त्यसलाई सुधार्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।
आर्थिक अपराधको अनुसन्धानका लागि भविष्यमा अख्तियारजस्तै छुट्टै ‘इकोनोमिक क्राइम अथोरिटी’ स्थापना गर्ने विषयमा पनि छलफल हुनुपर्ने मन्त्री वाग्लेले बताए ।
‘आर्थिक अपराधसम्बन्धी छुट्टै अनुसन्धान निकाय बनाउन सकिन्छ कि भन्नेबारे गम्भीर छलफल हुनुपर्छ । तर अहिले नेपाल ग्रे लिस्टमा रहेकाले तत्कालका लागि आवश्यक कानुनी व्यवस्थालाई अझ सशक्त बनाउँदै लैजानुपर्ने अवस्था छ,’ उनले स्पष्ट पारे ।
