समाचार

‘फेस अफ नेपाल २०२६’ घोषणा: दक्षिण कोरियाको एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर

By अर्जुन भट्टराई

‘फेस अफ नेपाल २०२६’ घोषणा: दक्षिण कोरियाको एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर

काठमाडौं । एम.एस. प्रोडक्सन प्रालिले ‘फेस अफ नेपाल २०२६’ को औपचारिक घोषणा गरेको छ। दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय एसिया मोडल फेस्टिभलको नेपालका लागि आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुने यस प्रतियोगिताले नेपाली युवा मोडलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ।

दक्षिण कोरियामा प्रत्येक वर्ष आयोजना हुने एसिया मोडल फेस्टिभलमा एसियाका २८ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने गर्छन्। ‘फेस अफ नेपाल २०२६’ का विजेताहरूले यही अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी अगस्ट ३०, २०२६ मा काठमाडौंस्थित रोयल टुलिप होटलमा हुनेछ। कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू उपस्थित रहने आयोजकले जनाएका छन्।

नेपालभरका १७ देखि ३० वर्ष उमेरका महिला तथा पुरुष यस प्रतियोगितामा भाग लिन सक्नेछन्। यसपटक उचाइ (हाइट) सम्बन्धी कुनै मापदण्ड राखिएको छैन। आत्मविश्वास, लगनशीलता र मोडलिङप्रतिको रुचि भएका सबै युवायुवतीलाई आवेदन दिन आयोजकले आग्रह गरेका छन्।

आवेदन प्रक्रिया खुला भइसकेको छ। इच्छुकहरूले ‘फेस अफ नेपाल २०२६’ को आधिकारिक पेज तथा आधिकारिक भोटिङ पार्टनर एभेन्टोज (Eventoz) मार्फत आवेदन दिन सक्छन्। दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ भने प्रारम्भिक छनोटमा परेका प्रतियोगीहरूले १५ हजार रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्नेछ।

सहभागीहरूले फिटनेस तथा व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ र स्टेज प्रस्तुतिलगायतका व्यावसायिक तालिम पाउनेछन्। प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ र सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्याङ्कन गरिनेछ। पहिलो चरणको अडिसन जुलाई ११, २०२६ मा हुनेछ। प्रशिक्षण तथा आगामी चरणहरूको जानकारी क्रमशः आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

एम.एस. प्रोडक्सन प्रालिका अनुसार ‘फेस अफ नेपाल २०२६’ केवल एउटा मोडलिङ प्रतियोगिता मात्र नभई नयाँ प्रतिभाको खोजी, व्यक्तित्व विकास र नेपाली मोडलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने सशक्त मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.