समाचार

मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट, चार महिला पक्राउ

By अर्जुन भट्टराई

मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट, चार महिला पक्राउ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर निर्घात कुटपिट गरेको घटनामा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर कुटपिट गरिएको थियो। यो घटना मंगलबार भएको थियो। घटनाको जानकारी पाएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गर्दै ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोत्तान र ४२ वर्षीया निर्मला वाइबालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पक्राउ परेका महिलाविरुद्ध थप अनुसन्धान सुरु गरिएको जानकारी दिए। घटनासँग सम्बन्धित सबै प्रमाण संकलन भइरहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी कारबाही अघि बढाइने उनले बताए।

बालबालिकामाथि भएको यस्तो अमानवीय व्यवहारप्रति स्थानीयवासीले गम्भीर चासो व्यक्त गरेका छन्। प्रहरीले स्पष्ट पारेको छ कि कानुन हातमा लिएर कसैलाई पनि यस्तो दुर्व्यवहार गर्न दिइने छैन र दोषीमाथि कानुनअनुसार कडा कारबाही हुनेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.