काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन नेपाल पर्यटन बोर्डमा सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
बुधबार बसेको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति करारमा नियुक्त गरेर यो कार्यक्रम अघि बढाइने बताए। ‘काम गरिरहने कर्मचारी थप्छौं। आवश्यक परे पाँच वा १० वर्षका लागि करारमा कर्मचारी राखेर काम अघि बढाउँछौं। पर्यटन बोर्डमा सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी गरेका छौं,’ उनले भने।
मन्त्री पौडेलका अनुसार आरोग्य पर्यटनको विकासमा अनुसन्धानकर्ता, विद्यार्थी, योग तथा ध्यानका प्रशिक्षक र अभ्यासकर्तालाई पनि यस अभियानमा जोडिनेछ। नेपालको परम्परागत खानपान, आरोग्य खेती प्रणाली, भेषभूषा र जीवनशैलीसँग जोडिएका विषयहरूको सूचीकरण गरी पर्यटनसँग आबद्ध गरिने उनले बताए।
‘खानेकुराको पनि आफ्नै आरोग्यता छ। खेतीपातीमा आरोग्य प्रणाली छ। यस्ता सबै विषयको सूचीकरण गरेर अभ्यासमा लैजानुपर्छ,’ उनले भने।
मन्त्री पौडेलले आरोग्य पर्यटनलाई प्राथमिकता दिएर सञ्चालन भइरहेका होटल व्यवसायीलाई नेपालका मौलिक उत्पादन र परम्परागत अभ्यासलाई आफ्नो सेवामा समावेश गर्न पनि आग्रह गरेका छन्। माटोका भाँडा बनाउने, धान रोप्ने जस्ता परम्परागत गतिविधि पनि आरोग्य अभ्यासका रूपमा पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार आरोग्य पर्यटनसम्बन्धी नीतिगत निर्णय गर्ने समिति गठन भइसकेको छ। अब सचिवालय स्थापना गरी कार्यक्रमलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।
