समाचार

गोलबजार–७ मा ‘टीबी फ्री अभियान’ : ७५ जनाको निःशुल्क एक्स–रे, ४ जना शंकास्पद क्षयरोगी भेटिए

By अर्जुन भट्टराई

गोलबजार–७ मा ‘टीबी फ्री अभियान’ : ७५ जनाको निःशुल्क एक्स–रे, ४ जना शंकास्पद क्षयरोगी भेटिए

सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ मा क्षयरोग नियन्त्रण तथा उन्मूलनका लागि ‘टीबी फ्री अभियान’ अन्तर्गत शंकास्पद बिरामी खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।

चन्दलालपुर स्वास्थ्य चौकीमा आयोजित यस कार्यक्रममा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) आधारित एक्स–रे प्रविधिमार्फत स्थानीयवासीको क्षयरोग परीक्षण गरियो। स्वास्थ्य चौकी इन्चार्ज रीता कुमारी सिंहका अनुसार कार्यक्रममा ७५ जनाले निःशुल्क एक्स–रेसहित स्वास्थ्य परीक्षण गराए, जसमध्ये ४ जना क्षयरोगका शंकास्पद बिरामी पहिचान भएका छन्।

इन्चार्ज सिंहले भनिन् — शंकास्पद देखिएका व्यक्तिको थप प्रयोगशाला परीक्षणको प्रतिवेदन आएपछि स्वास्थ्य मापदण्डअनुसार उपचार प्रक्रिया अघि बढाइनेछ। नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क क्षयरोग उपचार सेवाअन्तर्गत उनीहरूको उपचार हुनेछ।

यो कार्यक्रम गोलबजार नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नगरस्तरीय योजनाअन्तर्गत सञ्चालन गरिएको हो। वडा नम्बर–७ ले क्षयरोग निवारण कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष हरिशरण ठाकुरले जानकारी दिए।

वडा अध्यक्ष ठाकुरले क्षयरोगलाई समयमै पहिचान गरी उपचारको पहुँचमा ल्याउनु यस अभियानको मुख्य उद्देश्य रहेको बताए। उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्दै क्षयरोगका कुनै पनि लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन सबैलाई आग्रह गरे।

स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले समुदायमा क्षयरोगसम्बन्धी जनचेतना बढाउनुका साथै समयमै रोग पहिचान गरी संक्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.