समाचार

युएईमा जाने नेपाली श्रमिकलाई दोहोरो प्रहरी प्रमाणपत्रको झन्झट हटाउन नेपालको आग्रह

By अर्जुन भट्टराई

युएईमा जाने नेपाली श्रमिकलाई दोहोरो प्रहरी प्रमाणपत्रको झन्झट हटाउन नेपालको आग्रह

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा मन्त्री यादवले युएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने अहिलेको व्यवस्था हटाउन युएई पक्षसँग आग्रह गरे। यस व्यवस्थाले श्रमिकलाई थप झन्झट र खर्च थपिरहेको छ।

दुवै पक्षबीच नेपाल–युएई श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीको लागत घटाउने, सीप साझेदारी र श्रमिकको स्वास्थ्य सुरक्षालगायतका विषयमा सहकार्य थप सुदृढ बनाउने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ।

भेटमा युएईका राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा युएई सरकारले १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरेको जानकारी दिए। यस उदार निर्णयप्रति मन्त्री यादवले युएई सरकारलाई हार्दिक कृतज्ञता व्यक्त गरे।

राजदूत अल शामसीले द्विपक्षीय हित र साझा सरोकारका अन्य विषयमा पनि युएई सरकारसँग आवश्यक समन्वय गरी नेपाल सरकारलाई समयमै जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.