समाचार

मानसिक अस्पताल लगनखेलमा अनलाइन ओपीडी टिकट सेवा सुरु, लाइनमा बस्ने झन्झट हट्ने

By अर्जुन भट्टराई

मानसिक अस्पताल लगनखेलमा अनलाइन ओपीडी टिकट सेवा सुरु, लाइनमा बस्ने झन्झट हट्ने

काठमाडौं । मानसिक अस्पताल लगनखेलले आफ्ना बिरामीका लागि अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको छ। अब बिरामीले अस्पतालको वेबसाइटमार्फत नै टिकट बुक गर्न र डिजिटल माध्यमबाट शुल्क समेत तिर्न सक्नेछन्।

यो सेवा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप सञ्चालनमा ल्याइएको हो। मङ्गलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दै यस सेवा सुरु गर्न निर्देशन दिएको थियो।

अस्पतालका अनुसार यो व्यवस्थाले बिरामीलाई टिकटका लागि लामो समय लाइनमा उभिनुपर्ने बाध्यताबाट मुक्ति दिनेछ र सेवा प्रवाहलाई थप सहज, छरितो र पारदर्शी बनाउनेछ।

ओपीडी सेवाको समयतालिकाबारे अस्पतालले जनाएअनुसार सार्वजनिक बिदाबाहेकका दिनहरूमा बिहान ९ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सेवा उपलब्ध हुनेछ। तर अनलाइनबाट टिकट लिएका बिरामीलाई बिहानको ओपीडीका लागि ९ः३० देखि १२ः३० बजेसम्म र दिउँसोको ओपीडीका लागि २ः३० देखि ४ः३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.