काठमाडौं। पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले साढे दुई महिनादेखि बन्द रहेको रिपोर्टर्स क्लब नेपाल तत्काल खुलाउन सरकारसँग आग्रह गरेका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले भने, ‘समाज कल्याण परिषद्सँगको सम्झौताअनुसार तिर्नुपर्ने सबै बक्यौता रकम रिपोर्टर्स क्लबले पूर्ण रूपमा भुक्तानी गरिसकेको छ। त्यसैले सरकारले अब ढिलाइ नगरी ताला खोलिदिनुपर्छ।’
उनले क्लब बन्द रहनु नेपाली पत्रकारिता क्षेत्रकै लागि चिन्ताको विषय भएको बताउँदै भन्यो— ‘रिपोर्टर्स क्लब नेपाल कुनै व्यक्ति वा समूहको संस्था होइन, यो सम्पूर्ण पत्रकारिता क्षेत्रको साझा संस्था हो।’
धमलाले क्लबको गौरवशाली इतिहास पनि सम्झाए। २०५४ साल चैत १७ गते स्थापना भएको रिपोर्टर्स क्लब नेपालले करिब तीन दशकदेखि देशका राजनीतिक, सामाजिक, आर्थिक र कूटनीतिक विषयहरूमा प्रमुख बहसस्थलको भूमिका निर्वाह गर्दै आएको उनले बताए। कर्फ्युको समय, राजाको प्रत्यक्ष शासन र विभिन्न राष्ट्रिय संकटकालमा समेत क्लबले आफ्नो गतिविधि नरोकेको उनले स्मरण गराए।
भारतका वर्तमान रक्षामन्त्री राजनाथ सिंह, पूर्वराष्ट्रपति प्रणब मुखर्जी, पूर्वविदेशमन्त्री सुष्मा स्वराजलगायत शीर्ष नेताहरू तथा विभिन्न देशका राजदूतहरूले समेत रिपोर्टर्स क्लबको मञ्चबाट आफ्ना धारणा राखेको उनले उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गर्ने ऐतिहासिक घोषणा पनि यही क्लबबाट गरेको धमलाले सम्झाए।
भूकम्पपछि रिपोर्टर्स क्लब भृकुटीमण्डपस्थित भवनमा सञ्चालन हुँदै आएको र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पहलमा समाज कल्याण परिषद्सँग सम्झौता गरी कार्यालय सञ्चालन गरिएको धमलाले जानकारी दिए।
क्लब पुनः सञ्चालन भएपछि मधेश आन्दोलन, दलित, महिला, आदिवासी जनजाति, बादी र राउटे समुदायजस्ता सीमान्तकृत वर्गका मुद्दामा अझ सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। साथै पत्रकार, नागरिक समाज र सम्बन्धित निकायलाई क्लब खुलाउन सकारात्मक भूमिका खेल्न उनले आग्रह गरे।
