मनोरंजन

चलचित्र क्षेत्रमा नयाँ युगको अनुभूति हुनुपर्छ : मन्त्री तिमिल्सिना

By अर्जुन भट्टराई •

चलचित्र क्षेत्रमा नयाँ युगको अनुभूति हुनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रमा परिवर्तनको स्पष्ट अनुभूति हुने गरी काम गर्न चलचित्र विकास बोर्डलाई निर्देशन दिएका छन्।

मंगलबार चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार र बोर्ड दुवैले परिणाममुखी कामका माध्यमबाट जनताको विश्वास जित्नुपर्ने बताए।

उनले भने, ‘हरेक दिन, हरेक समय चुनौतीका रूपमा नयाँ जिम्मेवारी आएको छ। जनतालाई कसरी खुसी बनाउने, कस्तो परिणाम देखाउने भन्नेमा सरकार गम्भीर छ। जनताले जुन कुराको विरोध गरे र परिवर्तनका लागि संघर्ष गरे, त्यसलाई व्यवहारमा उतार्नु नै हाम्रो जिम्मेवारी हो। हामी सरकारमा किन आएका हौँ भन्ने विषयमा आफैँले पनि निरन्तर चिन्तन गरिरहेका छौँ। बोर्डले पनि यही सोचका साथ काम गरोस।’

मन्त्री तिमिल्सिनाले नेपाली राजनीतिसँगै चलचित्र क्षेत्रमा पनि नयाँ युगको सुरुवात भएको अनुभूति सबैले गर्न सक्नुपर्ने बताए। बोर्डलाई कलाकार, प्राविधिक, निर्माता, निर्देशक तथा नयाँ पुस्ताका सर्जकहरूले भरोसा गर्न सक्ने अभिभावकीय संस्थाका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो। चलचित्र उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार र सहकार्यमा सरकार खुला रहेको पनि उनले स्पष्ट पारे।

कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको बताए। उनले विशिष्ट परिचयपत्र प्राप्त गरी ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तिहरूका लागि वार्षिक एक लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमाको व्यवस्था गरिएको जानकारी दिए। त्यसैगरी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त व्यक्तित्व तथा २० वर्षभन्दा बढी योगदान दिएका चलचित्रकर्मीका लागि वार्षिक ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमाको पनि व्यवस्था गरिएको उनले बताए।

अध्यक्ष डिसीले चलचित्रसम्बन्धी विधेयकलाई अन्तिम रूप दिने क्रममा कुनै पनि प्रावधान छुट्न नदिन बोर्डले ‘वाचडग’को भूमिका निर्वाह गर्ने बताए। बजेट निर्माणमा पनि पुरानै शैली नदोहोर्‍याई चलचित्र उद्योगलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उनले जानकारी दिए।

उनले भने, ‘सरकारले आफैँ स्टुडियो बनाउने वा उपकरण किन्ने होइन, नीति निर्माण गरेर निजी क्षेत्रलाई सहज वातावरण सिर्जना गर्ने हो। त्यसैले चलचित्र उद्योगका वास्तविक सरोकारवालालाई सहयोग पुग्ने गरी बजेट पुनर्संरचना गरेका छौँ।’

डिसीले चलचित्र उद्योगभित्र रहेको अनावश्यक विवाद, समूहबन्दी र नकारात्मक प्रवृत्ति अन्त्य गर्न सबै पक्ष सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए। वार्षिकोत्सवको अवसरमा बोर्डले रक्तदान तथा वृक्षारोपण कार्यक्रम पनि आयोजना गरेको थियो। सरकारको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ अन्तर्गत पुर्‍याएको योगदानबापत चलचित्र विकास बोर्डले स्वर्ण पदक प्राप्त गरेको उनले उल्लेख गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.