अर्थ

सात वर्षमा नसकिएको काम निजी क्षेत्रले डेढ वर्षमै सम्पन्न गर्यो : मस्र्याङ्दी करिडोर प्रसारण लाइन परीक्षण सञ्चालनमा

By अर्जुन भट्टराई •

सात वर्षमा नसकिएको काम निजी क्षेत्रले डेढ वर्षमै सम्पन्न गर्यो : मस्र्याङ्दी करिडोर प्रसारण लाइन परीक्षण सञ्चालनमा

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा ऐतिहासिक सफलता हासिल गरेको छ । करिब सात वर्षसम्म अलपत्र परेको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सहभागितामा डेढ वर्षभित्रै निर्माण सम्पन्न भई अहिले परीक्षण सञ्चालनमा आएको छ ।\n\nयो प्रसारण लाइन मस्र्याङ्दी करिडोर अन्तर्गत तनहुँको आँबुखैरनीस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनसम्म फैलिएको छ । यो २२० केभी डबल सर्किट लाइन हो ।\n\n**सात वर्षमा नसकेको काम डेढ वर्षमा सम्पन्न**\n\nयस प्रसारण लाइनको निर्माणको जिम्मा सुरुमा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपलाई २०७४ साल कार्तिकमा दिइएको थियो । तर सात वर्षभन्दा बढी समयमा उक्त कम्पनीले ८४ वटा टावरमध्ये केवल ३५ वटा फाउन्डेसन र १० वटा टावरको इरेक्सन मात्र गर्न सक्यो । निर्माण अत्यन्त सुस्त गतिमा भइरहेको देखेपछि नेपाल विद्युत प्राधिकरणले २०८१ मंसिर ५ गते बाँकी काम निजी क्षेत्रलाई हस्तान्तरण गर्यो ।\n\nत्यसपछि मस्र्याङ्दी करिडोरका सात जलविद्युत आयोजनाले संयुक्त रूपमा करिब ४ करोड ९७ लाख रुपैयाँ लगानी गरी भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीमार्फत निर्माण अघि बढाए । आयोजनाको समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा समिति गठन गरियो ।\n\nनिजी क्षेत्रले जिम्मेवारी लिएपछि निर्माणले तीव्र गति लियो । हाल सबै ८४ वटा टावरको फाउन्डेसन सम्पन्न भइसकेको छ भने ७८ वटा टावरको इरेक्सन पनि पूरा भएको छ । हाल लाइनमा परीक्षणका रूपमा उच्च भोल्टेजको विद्युत प्रवाह सुरु गरिएको छ । परीक्षण सफल भएपछि लाइन नियमित सञ्चालनमा आउनेछ ।\n\n**कुन–कुन आयोजनाको लगानी छ ?**\n\nयस प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६ मेगावाटको चेपे खोला र ९.०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजनाहरूको लगानी रहेको छ ।\n\n**नयाँ इतिहास रचियो : उत्तम ब्लोन लामा**\n\nइप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले यो उपलब्धिलाई ऐतिहासिक बताए । उनले भने, “सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना निजी क्षेत्रले डेढ वर्षमै पूरा गरेर प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गरेको छ ।” प्रसारण लाइन अभावका कारण उत्पादित विद्युत खेर जाने समस्या हल गर्न निजी क्षेत्रले नयाँ इतिहास रचेको उनको भनाइ छ ।\n\nनेपाल विद्युत प्राधिकरणले पनि मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भइसकेको पुष्टि गरेको छ । युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो लाइन राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने अन्तिम तयारी पूरा भएको प्राधिकरणले जनाएको छ ।\n\nयस प्रसारण लाइनबाट मस्र्याङ्दी, दोर्दी, त्रिशूली तथा तिनका सहायक नदीमा निर्माण भएका र निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिनेछ । यसअघि प्रसारण पूर्वाधारको अभावमा उपयोग हुन नसकेको विद्युत अब राष्ट्रिय प्रणालीमार्फत उपभोग तथा व्यापारका लागि प्रयोग गर्न सकिने भएको छ ।\n\n**सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण : कुलमान घिसिङ**\n\nनेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले यस आयोजनाको सम्पन्नतालाई नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । प्रारम्भिक कम्पनीबाट समयमा काम सम्पन्न हुने अवस्था नदेखिएपछि निजी क्षेत्रले जिम्मेवारी लिएर आयोजना पूरा गर्नु सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको उनले बताए ।\n\nउनले मस्र्याङ्दी करिडोरको बाँकी खण्ड पनि शीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिँदै वन कटानी, जग्गा अधिग्रहण तथा कानुनी प्रक्रियामा हुने ढिलाइ हटाउन सरकारसँग आवश्यक सुधार गर्न आग्रह गरे । उत्पादनसँगै प्रसारण पूर्वाधार विस्तारलाई समान प्राथमिकता नदिए ठूलो परिमाणमा विद्युत खेर जाने जोखिम बढ्ने उनको चेतावनी छ ।\n\n**स्थानीयलाई सावधानी अपनाउन आग्रह**\n\nनेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको परीक्षण भइरहेकाले लाइन वरपरका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । टावरमा नचढ्न, विद्युतीय संरचना नछुन, टावर आसपास गाईवस्तु नलग्न तथा कुनै असामान्य अवस्था देखिएमा तत्काल प्रहरी वा प्राधिकरणलाई जानकारी दिन अनुरोध गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.