मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनमा रहेको कान्तिलोकपथमा सोमबार मध्यरात करिब १२:३० बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भयो।
पहिरोको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुग्यो। तर निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकोले त्यसरात सडक खुलाउन सम्भव भएन।
मंगलबार बिहान ५:३० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो र ६:३५ बजे सडक खुलाइयो। तर त्यसको केही बेरपछि, बिहान ६:४५ बजे, मकवानपुरकै भिमफेदी गाउँपालिका–८ भर्याङडाँडा क्षेत्रमा ठूलो पहिरो खसेर कान्तिलोकपथ पुनः पूर्ण रूपमा अवरुद्ध भयो।
हाल उक्त स्थानमा पहिरो हटाउने काम जारी छ। पहिरो ठूलो भएकाले र घटनास्थलमा सिमसिम वर्षा भइरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
