समाचार

भक्तपुरको रायोको सागमा उच्च विषादी फेला, नष्ट गर्न निर्देशन

By अर्जुन भट्टराई

भक्तपुरको रायोको सागमा उच्च विषादी फेला, नष्ट गर्न निर्देशन

काठमाडौं । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा धेरै गुणा बढी विषादी अवशेष फेला परेको छ। यो साग खानयोग्य नठहरिएपछि नष्ट गर्न निर्देशन दिइएको छ।

कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असार १६ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार मध्यपुर थिमी नगरपालिका, भक्तपुरबाट ल्याइएको उक्त रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी ८०.०१६० प्रतिशत भेटिएको हो। यो मात्रा निर्धारित सीमाभन्दा धेरै बढी भएकाले नमुनालाई ‘विसर्जन गर्ने’ श्रेणीमा राखिएको छ।

उक्त साग किसान सिता रेग्मीको उत्पादन रहेको प्रतिवेदनमा उल्लेख छ। कालीमाटीमा परीक्षण गर्दा खान अयोग्य ठहरिएपछि सो साग नष्ट गर्ने निर्णय गरिएको हो।

प्रयोगशालाले आज जम्मा १२ वटा तरकारीका नमुनाको विषादी परीक्षण गरेको थियो। परीक्षण गरिएका नमुनामा रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडालगायतका तरकारी समावेश थिए। रायोको साग बाहेक बाँकी ११ वटा नमुना उपभोगका लागि सुरक्षित सीमाभित्र रहेको र बजारमा बिक्री तथा उपभोगका लागि उपयुक्त ठहर गरिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाले विषादीको अवशेषका आधारमा तरकारीलाई तीन वर्गमा वर्गीकरण गर्ने गरेको छ। ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी उपभोगयोग्य मानिन्छन्। ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएमा केही दिन क्वारेन्टाइनमा राखी पुनः परीक्षण गरिन्छ। भने ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएमा त्यस्ता तरकारी अनिवार्य रूपमा नष्ट गर्नुपर्ने व्यवस्था रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.