काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको महत्वपूर्ण संस्था हो। वर्षौंदेखि उपभोक्ताको विश्वास जितेको यस संस्थान भने बजारिकरणको अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण अपेक्षित गति लिन सकिरहेको छैन।
प्रधानमन्त्रीले बदले तस्बिर
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा डीडीसीको याक चिज खाएको फोटो पोस्ट गरेपछि र मन्त्रिपरिषद् बैठकलगायत सार्वजनिक कार्यक्रमहरूमा डीडीसीका दुग्धजन्य उत्पादन उपभोग गरेपछि संस्थानले ब्रान्डिङको शक्ति प्रत्यक्ष रूपमा अनुभव गरेको छ।
काठमाडौं दुग्ध वितरण आयोजना वालाजुका प्रमुख चक्रवर्ती पौडेलका अनुसार प्रधानमन्त्रीले याक चिज खाएपछि आउटलेटहरूमा पहिलेको तुलनामा लगभग दोब्बर बिक्री भइरहेको छ।
‘वास्तवमा हामी चुकेको क्षेत्र नै मार्केटिङ हो। आफ्ना उत्पादनको व्यवस्थित विज्ञापन गरेकै छैनौं। उपभोक्ताले सरकारी संस्था भएकाले गुणस्तरमा विश्वास गरेर उत्पादन खरिद गरिरहेका छन्। त्यही विश्वासकै आधारमा डीडीसी टिकिरहेको छ,’ पौडेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने।
विश्वास थियो, प्रचार थिएन
डीडीसीका दूध, दही, घिउ, मक्खन, पनिरदेखि याक चिजसम्मका उत्पादन वर्षौंदेखि नेपाली उपभोक्ताबीच गुणस्तरका लागि चिनिन्छन्। तर निजी डेरी उद्योगहरूले आक्रामक प्रचार, आकर्षक प्याकेजिङ र वितरण प्रणाली विस्तार गरिरहँदा डीडीसी भने परम्परागत शैलीमै सीमित रह्यो।
पौडेलले भने, ‘हामीले उत्पादन बनायौं, बिक्री पनि भइरह्यो, तर बजारमा गएर आफ्नो ब्रान्डलाई स्थापित गर्ने काम भने गर्न सकेनौं।’
खुला दूधको चुनौती
बजारमा अर्को ठूलो समस्या भनेको प्लास्टिकमा रबरले बाँधेर बेचिने खुला दूध र दुग्धजन्य पदार्थ हो। यसले गुणस्तरका मापदण्ड पालना गर्ने उद्योगहरूलाई कडा चुनौती दिएको छ।
करिब एक दशकअघि प्याकेज्ड दूधको बजारमा डीडीसीको हिस्सा करिब ४० प्रतिशत रहेकोमा अहिले एक खाद्य तथा दुग्ध प्रविधिसम्बन्धी सम्मेलनमा प्रस्तुत जानकारीअनुसार यो हिस्सा करिब २० प्रतिशतमा झरेको अनुमान गरिएको छ। हाल करिब ६० प्रतिशत बजार खुला दूधले ओगटेको देखिन्छ। तर आधिकारिक सर्वेक्षण भने भइसकेको छैन।
मोहीको बढ्दो माग
पछिल्लो समय डीडीसीमा सबैभन्दा बढी माग बढेको उत्पादन मोही हो। स्वास्थ्यप्रति बढ्दो सचेतना र चिनी मिसाइएका पेय पदार्थको विकल्प खोज्ने प्रवृत्तिका कारण मोहीको माग उल्लेख्य रूपमा बढेको छ।
पौडेलले भने, ‘सामाजिक कार्यक्रमहरूमा पनि अहिले कोल्ड ड्रिङ्क्सभन्दा मोही प्रयोग गर्ने चलन बढेको छ।’ तर सीमित उत्पादन क्षमता र जनशक्तिका कारण मागअनुसार मोही उपलब्ध गराउन नसकिएको उनले स्वीकार गरे।
यसैलाई मध्यनजर गर्दै डीडीसीले साउन १ गतेदेखि १ लिटर र ३०० मिलिलिटरका बोतलमा मोही बजारमा ल्याउने तयारी पूरा गरेको जनाएको छ।
आक्रामक ब्रान्डिङको योजना
डीडीसीमा अहिले नयाँ नेतृत्व आएको छ। नयाँ महाप्रबन्धकले पनि विज्ञापन र बजार विस्तारलाई प्राथमिकतामा राखेका छन्। केन्द्रीय कार्यालयले विज्ञापनका लागि बजेट छुट्याउने, होर्डिङ बोर्ड राख्ने, प्रचारात्मक अभियान सञ्चालन गर्ने र ब्रान्डलाई नयाँ ढंगले प्रस्तुत गर्ने तयारी गरिरहेको छ। डिजिटल माध्यम र उपभोक्तामुखी कार्यक्रममार्फत पनि डीडीसीलाई नयाँ रूपमा प्रस्तुत गर्ने योजना बनाइएको छ।
सरकारी निकायमा बजार विस्तारको माग
डीडीसीले नेपाली सेना, नेपाल प्रहरी, सरकारी अस्पताल र सरकारी क्यान्टिनहरूमा दुग्धजन्य पदार्थ डीडीसीबाटै खरिद गर्ने नीतिगत व्यवस्थाको माग गरेको छ। पौडेलले भने, ‘सरकारले नीतिगत रूपमा सहयोग गरिदियो भने किसानको दूध पनि सहज रूपमा खपत हुन्छ र संस्थान पनि आत्मनिर्भर बन्छ।’
किसानको भुक्तानीमा सुधार
किसानको भुक्तानीका सन्दर्भमा पनि सुधार भइरहेको पौडेलले जानकारी दिए। संस्थानको समग्र बक्यौता रकम करिब ४० करोडभन्दा तल झरेको सुनिएको उनले बताए। काठमाडौं दुग्ध वितरण आयोजनाअन्तर्गतका सहकारीहरूको फागुन अन्तिमसम्मको भुक्तानी भइसकेको छ भने चैत, वैशाख र जेठ तीन महिनाको मात्रै भुक्तानी बाँकी रहेको उनले बताए।
उनले केही निजी डेरी उद्योगहरूले डीडीसीको नाम जोडेर किसानको भुक्तानी रोक्ने गरेको आरोप पनि लगाउँदै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए।
सुधारको बाटोमा
आर्थिक संकट, पुराना उपकरण र बजार प्रतिस्पर्धाका कारण वर्षौंदेखि दबाबमा रहेको डीडीसी अहिले विस्तारै नाफाको बाटोतर्फ अघि बढिरहेको संस्थानको दाबी छ। पौडेलले भने, ‘अब गुणस्तरीय उत्पादनसँगै प्रभावकारी बजारिकरणलाई जोड्न सके डीडीसीले गुमाएको बजार पुनः प्राप्त गर्न सक्छ भन्ने हाम्रो विश्वास छ।’
